अभिनेत्री सुमिना घिमिरे 'दुलही' बनेर नेपाली फिल्ममा हिरोइनका रूपमा दर्ता भइन्। शुक्रबारदेखि देशभरका हलमा रिलिज भएको यो फिल्म खेल्नुभन्दा करिब दुई वर्षअघि नै उनलाई 'ब्रेक' दिएको थियो, फिल्म 'छबिलाल कन्जुस छैन'ले।

'म यो फिल्ममा गायक प्रशान्तको फ्यान हुन्छु। परिवारकी एक्ली छोरी। अलिक चुलबुले चरित्र छ,' उनले भनिन्। प्रदीप श्रेष्ठको निर्देशनमा बनेको फिल्म 'सडक'मा आयुष रिजाल र अयुब केसीजस्ता नयाँ हिरोको साथ उनी देखिन्छिन्। 'सुरुमा नकारात्मक, पछि सच्चिने युवतीकी रूपमा देखिन्छु,' उनले एकै लाइनमा सडकको भूमिका बताइन्।
सस्पेन्स थि्रलर फिल्म 'पापी रात'मा विवाहिता युवतीको भूमिका मिलेको छ उनलाई। विराज भट्ट र उनका भाइ कृष्णको प्रेमिका बनेकी छन् उनी फिल्म 'जय होस'मा। कमेडी फिल्म 'छविलाल कञ्जुस छैन'मा चुलबुले चरित्र छ उनको। 'फिल्मजस्तै म पनि हँसिली, खुसिली र रमाइली देखिन्छु,' अडिसनमा आफ्नै सुरले गरेको अभिनयलाई निर्देशक ज्ञानेन्द्र देउजाले रुचाएपछि त्यस्तै भूमिका पाएको उनको भनाइ छ।
निर्देशक देउजाले फिल्ममा नयाँ पात्रको आवश्यकता टार्न सुमिनालाई लिएको बताए। 'फिल्मी कार्यक्रम चलाउने एकजनाले सिफारिस गरेका हुन्। लुक्स ठिकै लाग्यो। मेरो फिल्ममा हिराइनको पावरफुल भूमिका नभएकाले सजिलै निर्णय गरेको हुँ,' ज्ञानेन्द्रले भने।
काममा 'सिरियस' र पारिश्रमिको हिसाबले समेत सहज लागेर धेरैको रोजाइ बनेको हुनसक्ने उनको अनुमान छ।
सुमिनाको जस्तै अनुभव साँचेका हिरो हुन् अर्जुन कार्की। एक्सन फिल्मको लहर चलिरहेका बेला उनले लगातार १५ वटा फिल्म खेलेका थिए। फिल्मको प्रोमो हेरेको भरमा धेरैले उनलाई हिरो बनाए। तर, जब उनका फिल्म रिलिज भए र आशा गरेअनुसार व्यापारिक सफलता हात परेन उनको बजार घट्यो। बाहिरको फिल्म घटेपछि उनी आफ्नै लगानीको फिल्म 'बजार' बनाइरहेका छन्।

