अमेरिका को सत्तारुढ दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्वमा एक नेपाली पुग्न सफल भएका छन् ।

सत्तारुढ दल डेमोक्रेटिक पार्टीको स्थानीय नेतृत्वमा एक नेपाली पुग्न सफल भएका छन् । राष्ट्रपति बाराक ओबामाको दल डेमोक्रेटिक पार्टीको भर्जिनिया राज्यको लाउडन काउन्टीको स्थानीय नेतृत्वमा यसरी पहिलोपटक नेपाली मूलका हरि शर्मा सर्वसम्मतरुपमा पार्टीको कोषाध्यक्षको पदमा पुगेका हुन्। गत शनिबार भएको सोही काउन्टीको डेमोक्रेटिक पार्टीको स्थानीय तहको निर्वाचनमा शर्मासँगै प्रतिस्पर्धामा रहेका अन्य दुई उम्मेदवारले शर्माको समर्थनमा आ-आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि उनी सर्वसम्मत भएका हुन्। उनी विगत १३ बर्षदेखि डेमोक्रेटिक पार्टीमा सकृय छन्। गत राष्ट्रपति निर्वाचनमा बाराक ओबामाको पक्षमा उनी निकै सकृयतापूर्वक चुनाब प्रचार प्रसारमा संलग्न थिए। सोही पार्टीको स्थानीय नेतृत्वमा सर्वसम्मत भएपछि ग्लोबनेपाल डट कम सँग कुरा गर्दै शर्माले भने, अवसरको यो भुमि अमेरिकामा आफुले चाहेको गन्तव्यमा पुग्न सकिन्छ भन्ने उदाहरणको पहिलो प्रयासको रुपमा मैले यो जिम्मेवारीलाई लिएको छु। यसमा म एक आप्रवासी नेपालीको नाताले गौरव महसुस गर्दछु।
२३ बर्ष अघि उच्चशिक्षा अध्ययनका लागि अमेरिका छिरेका ललितपुर झम्सीखेल पुर्ख्यौली थलो भएका शर्मा यहाँको नेपाली समुदायमा पनि सकृय छन्। पेशाले उनी पब्लिक एकाउण्टेन्ट भएता पनि सामाजिक रुपमा एएनए, एनआरएन लगायतका नेपाली सँघसंस्थामा पनि उनी उत्तिकै कृयाशील छन्। सहयोगी र मिलनसार व्यक्तित्वका धनी शर्मा अमेरिकी राजनीतिक दलको स्थानीय संगठनको कोषाध्यक्ष जस्तो जिम्मेवार पदमा पुग्ने सम्भवत: हालसम्मकै पहिलो नेपाली मूलका व्यक्ति हुन्। यसपटक स्थानीय पार्टी नेतृत्वको भूमिका आगामी नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति निर्वाचनका कारण पनि निकै महत्वपूर्ण हुनेछ। दुई बर्षे कार्यकालका लागि डेमोक्रेटिक पार्टीका रजिष्टर्ड सदस्यहरुले मात्र मतदान गर्न पाउने स्थानीय तहको निर्वाचनमा अरु मतदाता पनि कोही नेपाली थिए कि भन्ने ग्लोबनेपाल डट कम को जिज्ञासामा शर्मा भन्छन्- लाउडन काउन्टीमा एक हजार भन्दा बढी नेपाली बसोबास गरिरहेको अनुमान छ, तर यहाँको पार्टी राजनीतिमा भने मैले अहिलेसम्म एकजना पनि नेपाली भेटेको छैन।
अब शर्माको व्यस्तता अझ बढ्नेछ किनकि पार्टी नेतृत्वभित्र पनि पार्टीका काउन्टी अध्यक्षसहितका दुई उपाध्यक्ष, सचिव र कोषाध्यक्ष रहेको पाँच सदस्यीय कार्यकारी समिति हुनेछ। जसले पार्टी संगठनका महत्वपूर्ण विषयमा र आगामी राष्ट्रपति निर्वाचनका लागि स्थानीय संगठनलाई सशक्त रुपमा परिचालन गर्नुपर्नेछ। त्यसो त संगठनका अन्य रणनीति पनि पाँच जनाको यही समितिले तय गरेर कार्यसमितिमा प्रस्तुत गर्नेछ। यसका लागि कोषाध्यक्ष शर्मालाई पार्टीले पार्टी सन्चालनका लागि लिसवर्ग भन्ने ठाउँमा छुट्टै कार्यालयको व्यबस्था गरिदिएको छ। नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा भर्जिनिया राज्यका सिनेटर मार्क हेरिङ र लाउडन काउन्टीका बोर्ड
सुपरभाइजरसहित अन्य सिनियर डेमोक्र्याटहरु सहभागी थिए।
यसअघि क्यालिफोर्नियामा रहेका नेपाली मूलका रोजर अधिकारीले डेमोक्र्याट पार्टीबाट स्थानीय काउन्सिल सदस्यको उम्मेदवार भएर चुनाव लडेका थिए। अहिले नेपाली मूलका अर्का दर्शन रौनियार आगामी संसदको तल्लो सदन हाउस अफ रिप्रजेन्टेटिभ(कँग्रेस) को लागि डेमोक्रेटिक पार्टीकै तर्फबाट वाशिंगटन राज्यबाट उम्मेदवारी घोषणा गरेर प्रचारप्रसारमा जुटेका छन्। तर पार्टी नेतृत्वमा पुग्ने चाहिं सम्भवत: शर्मा नै पहिलो नेपाली हुन्।