नयाँ सामाजीक सञ्जाल ‘मेरोपोष्ट’नेपालमै

नेपालीमै टाइप गर्न र ट्विटरमा भन्दा थप सुविधाको रुपमा च्याट गर्न मिल्ने नयाँ सामाजीक सञ्जाल ‘मेरोपोष्ट’ ट्विटर जस्तै साइट नेपाली विद्यार्थी सुनिल चौलागाईले सञ्चालनमा ल्याएका छन्। कान्तिपुर इन्जिनियरिङ कलेजमा बीई अध्ययन गरिरहेका चौलागाईले डेढ वर्षसम्मको निरन्तर प्रयासपछि यो सामाजीक सञ्जाल सञ्चालनमा ल्याएका हुन्। नेपालमा फेसबुक, माइस्पेस, ट्विटर जस्ता साइटहरु युवाहरुमा लोकप्रिय भैरहेको छ। यस्ता साइट नेपालमा पनि बनाउन सकिने देखिएकोले उनी एक्लैको प्रयासले मेरोपोष्ट डटकम सञ्चालनमा ल्याएका हुन्।

मेरो पोस्टमा ग्रुप खोल्ने, फोटोहरु अपलोड गर्ने, आफूलाई मन लागेको साइड बार राख्न मिल्ने गरि बनाइएको छ। एकैपटकमा दुईलाख जनाले प्रयोग गर्न सकिने गरि ५० जिबी क्षमताको सर्भर राखिएको छ। ६ महिनाअघिदेखि परिक्षणको रुपमा चलाइएको यो साइटलाई यसै सातादेखि व्यबसायीक रुपमा प्रयोग गर्न सकिने बनाइएको छ। अहिलेसम्म एकहजार पाँचसय जनाले नियमित रुपमा मेरोपोष्टको प्रयोग गरिरहेका छन्।नेपालमा पनि सामाजीक सञ्जालका प्रयोगकर्ता बढ्दै गएपछि यसलाई तयार गरेर सञ्चालनमा ल्याइएको हो। नेपाल टेलिकमले आउँदो दशैंदेखि फेसबुक जस्तै: ‘एनटिसी चौतारी’ र नमस्तेमित्र डट कम सञ्चालनमा ल्याउँदैछ। मेरोपोष्टको सर्भर भने अमेरिकामा राखिएको छ। नेपालमा प्रविधि र पूर्वाधारले सर्भर राख्दा समस्या आउने देखेर उनले अमेरिकामा सर्भर राखेर सञ्चालनमा ल्याएका हुन्।