नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु

नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु भएको छ। कात्तिककृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीया सम्म तिहार मनाइन्छ । यसपटक कात्तिक ७ गते सोमबार साँझदेखि त्रयोदशी अर्थात् यमपञ्चक सुरु हुने भएकाले साँझ यमराजको आह्वान, पूजा तथा यमदीपदान गरिन्छ। यमपञ्चकको दोस्रो दिन कात्तिक ८ गते बुधबार त्रयोदशी थोरै बाँकी भएकाले कागपूजा बिहान ७ घडी ३ पलाभित्र गर्नुपर्ने हुन्छ । उप्रान्त चतुदर्शी लाग्ने भएकाले कुकुरतिहार तथा नरक चतुर्दशी स्नान, दीपदान पनि बुधबार नै गरिन्छ । आयुर्वेदका प्रणेता धन्वन्तति जयन्ती पनि सोही दिन मनाइन्छ । तेस्रो दिन कात्तिक ९ गते साँझ लक्ष्मीको पूजा तथा दीपावली, चौथो दिन कात्तिक १० गते बिहान गोवद्र्धन पूजा, गाईपूजा तथा गोरु तिहार र बलिराजाको पूजा गरिन्छ भने साँझ नेवार समुदायमा म्हँ (आत्मपूजा) गरिन्छ । अन्तिम दिन कात्तिक ११ गते बिहान ११:५५ मिनेटमा भाइटीकाको शुभसाइत रहेको भए तापनि भाइटीका मध्याह्न तथा अपराह्न पनि गर्न सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष डा.माधव भट्टराईले जानकारी दिनुभयो ।
पुराणका अनुसार यस पर्वमा यमराज आफ्ना दैनिक कार्य स्थगन गरी बहिनी यमुनाकहाँ पाँचदिनसम्म पाहुना बनी बस्ने र बहिनीद्वारा पुजिएका यमराजले वस्त्र, आभूषण दिएर भ्रातृ स्नेहलाई प्रगाढ बनाउने हुनाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।