केही महिनाअघि अभिनेत्री प्रियंका चोपडाले गीति एल्बम निकाल्दै गायनमा पाइला चाल्ने घोषणा गरेकी थिइन्। उनी लेडी गागादेखि जे सिनजस्ता अन्तर्राष्ट्रिय रूपमा चर्चित कलाकारसँग नियमित सम्पर्कमा छिन्। आफ्नो एल्बममा यी नामुद कलाकारसँग सहकार्य हुनसक्ने सम्भावना पनि उनले व्यक्त गरिसकेकी छिन्।
प्रियंकाले शुक्रबार अनुराग बसुको ‘बर्फी’ फिल्मको सुटिङ सिध्याएकी छिन्, जसमा रणवीर कपुर उनको जोडी छन्। सुटिङ लगत्तै एल्बमको तयारी गर्न उनी अमेरिकाको लसएन्जल्सतर्फ प्रस्थान गरिसकेकी छिन्। ‘प्याकिङ प्याकिङ, आज राति लस एन्जल्स जाँदैछु, संगीत सिर्जनु भनेको जादु गर्नु हो, घरको सम्झना आइरहनेछ तर नयाँ चुनौतीतर्फ अग्रसर छु,’ प्रियंकाले शुक्रबार टि्वट गरेकी छिन्। एल्बमका केही गीत प्रियंका आफैले लेख्दैछिन्। एल्बममा प्रियंकाले सिर्फ र्याप मात्र गर्ने भन्ने चर्चा चलेको थियो। तर, प्रियंकाले दाबी गरिन्, ‘मैले र्याप होइन गाउनै लागेको हुँ। सबै गीत अंग्रेजी र पप हुनेछन्।’ पाश्चात्य शास्त्रीय गायन सिकेकी प्रियंकाले एल्बममा अन्तर्राष्ट्रिय कलाकारको पनि सहभागिता रहने पुष्टि गरिन्। अर्को वर्षको कुनै दिन एल्बम निक्लिने उनको अनुमान छ। प्रियंकाले पछिल्लो समय ‘डन २’, ‘अग्निपथ’, ‘तेरी मेरी कहानी’, ‘बर्फी’ र ‘क्रिश २’ मा अभिनय गरिसकेकी छिन्। सबै फिल्ममा फरक फरक खाले भूमिका रहेको उनले बताइन्।
