पूर्वाञ्चलमा सुकेको कम्मर मर्काउँदा चर्चा पाए राजेश हमालले

युवाअवस्थामा राजेश हमालले 'साथी' चलचित्रमा कसिलो कम्मर मर्काउँदा जति चर्चा पाएका थिए त्यो भन्दा बढि चर्चा बिहिबार पूर्वाञ्चलमा भएको दमक महोत्सवमा सुकेको कम्मर मर्काउँदा पाए ।

करिब १२ बजे नै स्टेजमा पुगेका हमाललाई दर्शकहरू हेर्न निकै आतुर थिए तर आयोजकले दर्शकलाई हमालको दर्शन भेट करिब ४ घण्टा पश्चात मात्र गरायो । सवा चार बजे तिर स्टेजमा उक्लेका हमालले शुरूमा साथी चलचित्रको 'मलाई पनि अंग्रेजीमा बोल्न सिकाई देउ न' बोलको गीतमा कम्मर मर्काएर दर्शकलाई तताए । त्यसपछि केहि चलचित्रका डाईलग प्रस्तुत गरेर गायक राजेश पायल राईसँग दर्शन नमस्ते भन्दै उनले दर्शकलाई उफारे ।

राजेश हमाललाई हेर्न भनेर हजारौंको संख्यामा दर्शक उपस्थित थिए तर आयोजकले राजेशलाई समयमा स्टेजमा नबोलाउँदा मैदान आधा भन्दा बढि खाली भईसकेको थियो । समयमा राजेशको प्रस्तुती हेर्न नपाएका दर्शक निन्याउरो मुख लिएर घर फर्कन बाध्य भए भने राजेशलाई कुरेर बस्ने दर्शकहरू भरपूर मनोरञ्जन लिएर हँसिलो मुद्रामा घर फर्किएका थिए ।

आफ्ना चर्चित गीत प्रस्तुत गरेका गायक राजेश पायलले पनि हमालको खुलेर तारिफ गरे । दुई राजेशको उपस्थितीले कार्यक्रम सफल भएको आयोजकको भनाई थियो ।