माओवादीका एघार नेतामाथि भारतिय अदालतमा परेको मुद्धा फिर्ता

तत्कालिन विद्रोही एकिकृत माओवादीका एघार नेतामाथि भारतिय अदालतमा परेको मुद्धा फिर्ता भएको छ । भारतको विहारस्थित पटना अदालत ले एकीकृत नेकपा माओवादीका ११ नेतालाई सफाइ दिएको छ । विहार राज्य सरकारले मुद्धा फिर्ताका लागि दिएको निवेदनमा सुनुवाई गर्दै न्यायाधीश वशिष्ठनारायण सिंहको इजलासले नेपालका माओवादीका नेताहरुलाई सफाईको आदेश दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
राज्य सरकारको तर्फबाट सरकारी वकिल जयप्रकाश सिंहले माओवादी नेताहरुको मुद्धा फिर्ताका लागि बुधबार अदालतमा निवेदन दिएको थियो । यसअघि विहार सरकारले दुई साताअघि माओवादी नेताहरुको मुद्धा फिर्ता लिने नितिगत निर्णय गरेको थियो । प्रधानमन्त्री एवं उपाध्यक्ष डा बाबुराम भट्टराईको विहार भ्रमणको पूर्वसंध्यामा माओवादी नेताहरुमाथिको मुद्धा फिर्ता लिइएको हो । विहारका मुख्यमन्त्री नितिसकुमारको निमन्त्रणमा भट्टराई फागुन ५ गते विहार जाने तयारीमा हुनुहुन्छ ।
माओवादी नेताहरु चित्रबहादुर श्रेष्ठ, लोकेन्द्र विष्ट, कुलबहादुर केसी, कुमार दाहाल, हितबहादुर तामाङ, अनिल शर्मा, दिलीप महर्जन, मीनप्रसाद, रञ्जु थापा, सुमन तमाङ र श्यामकिशोर प्रसाद यादवलाई केही वर्ष जेल र जरिवानाको फैसला सुनाएको थियो । सन् २००४ मा पक्राउ परेका माओवादी नेताहरुविरुद्ध भारतविरुद्ध युद्ध छेड्ने प्रयास गरेको, देशद्रोह लगायतका मुद्धा लगाइएको थियो । त्यसपछि प्रधानमन्त्री भट्टराईले माओवादी नेताहरुको मुद्धा फिर्ताको पहल गर्नु भएको थियो ।