म बिल्कुल कुमारी केटी हुँ, देयर इज नो डाउट - कोमल वली

उत्ताउला गीत गाएर जोसिला युवालाई जुरुक्क उठाउने सांगीतिक ‘तरुनी’ कोमल वलीले आफु अहिलेसम्म कुमारी नै भएको दावी गरेकी छन् । गीतमार्फत नै गाँठ आँट भएको तन्नेरीको खोजी गरिरहेकी कोमलले आफु अबिबाहितमात्र नभएर कुमारी नै भएको र त्यसमा कुनै शंका नगर्न आग्रह गरेकी छन् । शुक्रबार साप्ताहिकसँग अन्तरंग कुराकानी गर्दै कोमलले भनेकी छन-’म बिल्कुल कुमारी केटी हुँ, देयर इज नो डाउट-कुनै शंका छैन) ।’

आफु कुमारी हो कि हैन भन्ने कुरा नितान्त निजी बिषय भएकाले त्यसबारे धेरै नबोल्ने भन्दै कोमल कुराको बिट मार्न खोज्छिन- ‘कुमारीको सेन्समा मेरो नाम कोमल कुमारी वली हो, म यतिमै सकाउन चाहान्छु ।’

कोमलले आफु अझै बुढी नभएको र तन्नेरी खोज्नु कुनै अनौठो नभएको बताएकी छन् । कोमल भन्छिन- ‘म कहाँ बुढी भएकी छु र ? बुढी हुन त अझै २०/२५ बर्ष लाग्छ ।’ आफुले इन्टर पढ्दा नै साथीहरुको भटाभट बिहे भएको र त्यही बेला आफुलाई पनि बिहे गरेर श्रीमानको हात समातेर हिड्ने रहर लागेको बताउने कोमलले त्यसपछि आफुलाई एउटा केटा मन परेको र बिबाहको कुरा पनि चलेको खुलासा गरेकी छन् । तर बुबाले कोमल वली बन्न चाहान्छौ कि कसैको श्रीमती भएर चिनिन चाहान्छौ भनेर सोधेपछि आफ्नो सोंच परिवर्तन भएको र अहिलेसम्म बिबाह नजुरेको कोमलले बताइन् । त्यसपछि पनि आफुलाई धेरै जना मन परेको तर हाहु गरेरै टारिदिएको तर बिबाहका बारेमा गम्भीर नभएको कोमल बताउंछिन् ।

हरेक मान्छेको बिबाह हुनुपर्छ नत्र समाज वैरागी हुन्छ भन्ने मान्यता राख्ने कोमलले प्रश्न गरिन- ‘बिहे गर्न केटा पनि चाहियो नी, मैले अहिल्यै बिहे गर्छु भनेर कोसँग गरुँ ?’

नेताहरुसँगको सम्बन्धबारे कोमल खुल्नै चाहिनन् । भन्छिन- ‘यस्ता कुरै नसोध्नुस् ।’ आफुले अहिलेसम्म रक्सी नपिएको दावी गर्दै कोमलले भन्छिन- ‘मैले आजसम्म नखाएको चीज केही छ भने त्यो रक्सी हो ।’

अहिलेसम्म आफुले कसैलाई धोका नदिएको कोमलको जिकिर छ । अनुहारमा खुवै लिपपोत गर्नुहुन्छ कि क्या हो भन्ने प्रश्नमा कोमल भन्छिन- ‘मलाई थाहा छ मेरो शरिरमा कहाँ कहाँ रेखा परिसके । कति हतोत्साहित बनाउनुहुन्छ ?’