चितवनको शक्तिखोरमा भइरहेको माओवादी लडाकूको स्वेच्छिक अवकाश प्रक्रिया रोकिएको छ। लडाकूलाई ‘चेक’ हस्तान्तरण गर्ने कार्य चलिरहेको समयमा तह विभाजनमा विवाद उत्पन्न भएपछि अवकाश प्रक्रिया रोकिएको हो।
चेक लिंदै गरेका लडाकूहरुले अनमिनले तय गरेको तह नमानी आफूहरुको आन्तरिक तह अनुसार चेक दिनुपर्ने बताएपछि अवकाश प्रक्रिया तत्कालका लागि रोकिएको हो। विवाद साम्य गर्न सेना समायोजन विशेष समिति संयोजकसहित सम्बन्धित पक्षको बैठक बसिरहेको बताइएको छ। स्वेच्छिक अवकाश रोजेका माओवादी लडाकूहरुको शुक्रबारबाट औपचारिक बिदाई सुरु भएको हो।
सेना समायोजन विशेष समिति सचिवालयका संयोजक बालानन्द शर्माले स्वेच्छिक अवकाश रोजेका तेस्रो डिभिजन शक्तिखोरका सहकमाण्डर उदयबहादुर चलाउनेलाई चेक हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । चलाउने आठ लाख रुपैयाँ पाउनेमध्येका एक हुनुहुन्छ । उहाँले आज चार लाख रुपैयाँको चेक प्राप्त गर्नुभएको छ ।लडाकुलाई राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र नेपाल बैंकमध्ये कुनै एक बैंकको चेक र बाटो खर्चबापत रकम उपलब्ध गराइएको छ । तराईका लडाकुलाई दुई हजार, पहाडका लागि पाँच हजार र हिमालका लागि आठ हजार रुपैयाँका दरले बाटो खर्च उपलब्ध गराइएको छ ।सो शिविरमा आज ४७२ जनालाई चेक हस्तान्तरण गर्ने भनिए पनि ढिलो गरी सुरु भएका कारण थोरै लडाकुलाई मात्र चेक वितरण गरिएको छ । जसका लागि केन्द्रबाट १२ जना र शिविर व्यवस्थापनलगायत गरी १४ जनाको टोली तेस्रो डिभिजन शक्तिखोरमा खटिएका छन् । टोलीले करिब १२ दिनभित्र चेक वितरणको कार्य सक्ने लक्ष्य लिएको संयोजक शर्माले जानकारी दिनुभयो । पदअनुसार लडाकुले पाँच लाखदेखि आठ लाख रुपैयाँसम्म रकम बुझ्नेछन् । चितवनको शक्तिखोर शिविरमा तीनहजार ३५० मध्ये एकहजार १३७ जना स्वेच्छिक अवकाश रोजेका लडाकु छन्
