संतोष पन्तकी नयाँ छोरि (छोरा प्रतीक नामबाट केटलिन) बनेकी छिन

सन्तोष पन्तका छोरा लिंग परिवर्तन गरेर छोरी भएको खबरले धेरैलाई धेरैथरीको प्रश्न उब्जायो । आधुनिक चिकित्सा पद्दतिले केटालाई केटी र केटीलाई केटा बनाउन त सजिलो होला । तर पहिले केटा भएको मान्छे केटी भएपछि आनीबानी, स्वभाव र रहनसहन कस्तो होला ? अरु युवती जस्तै केटाबाट केटी भएकीलाई शारिरीक सम्पर्कको चाहना हुन्छ की हुँदैन ? कहिलेसम्म सन्तान जन्माउन योग्य होलिन् उनी ? लिंग परिवर्तन हुँदा शारिरीक स्वरुपमा के कस्तो परिवर्तन र अप्ठेरो महसुस होला ? घरपरिवार र साथीभाइले राख्ने जिज्ञासा तथा व्यवहार कस्तो हुन्छ ?

प्रतीक नामबाट केटलिन भएकी सन्तोष पन्तकी छोरीबाट धेरैले यस्तै प्रश्नका जिज्ञासा खोजेका छन् । हामीले पनि यही जिज्ञासाको खोजीमा सन्तोष पन्तको मोबाइलमा घण्टी हान्यौं ।

‘खै बोल्न मान्दैन, अहिले पनि औषधि नै गरेर बस्नुपर्छ । भेट्न त मुश्किल छ ।’ पन्तले जवाफ दिए । भेट्न नमिल्ने भए टेलिफोनबाटै भएपनि सञ्चोबिसञ्चोबारे कुराकानी गरौं न भन्दा पन्तले घरको ल्याण्डलाईन फोन दिएर सम्पर्क गर्न भने ।

पन्तले दिएको नम्बरमा धेरैपटक फोन गर्दा पनि घण्टी मात्रै गयो । फोन उठेन । बल्लतल्ल एकजना बच्चाले फोन उठाए । उनले सोधीखोजी गरे । घरमा ठूला मान्छे कोही छन् भने बोलाईदिनुस् न भन्दा निकैबेरपछि एउटा महिला स्वर सुनियो -’हेलो, को बोल्नुभयो ?’

‘म अनलाइनखबरबाट बोलेको, हजुर भाउजु हो ?’ भन्ने बित्तिकै ‘म केटलिन हो, तपाईंले नै हो मेरो बारेमा जे पायो त्यही लेखेको ?’ भन्दै उनी झर्किन् ।

‘ए नमस्कार, मैले तपाईंलाई नै खोजेको । तर तपाईंले भनेजस्तो तपाईंकोबारेमा अनलाईन खबरले केही लेखेको छैन, तपाईंलाई सोधेर लेख्न भनेर फोन गरेको ।’ भन्दा उनले पत्रकारले जे पायो त्यही लेख्ने भएकाले आफू अब कोहीसित नबोल्ने बताईन् ।

एउटा साप्ताहिक पत्रिकामा आएको खबरलाई अनलाइन खबरले पत्रपत्रिकाबाट भन्ने कोलममा राखेको खबरबाट उनी आगो भएकी रहिछन् । ‘पत्रकारले जे पनि लेख्दा रहेछन्, अब म पत्रकारसित बोल्दिन । मनगढन्ते लेखे हुन्छ’ उनले फेरि भनिन् । पाठकको चासोका कारण मिडियाले तपाईलाई खोजिरहेका छन तपाई चाहिं किन चुप लाग्नुभएको भनेपछि उनी केही नरम भइन् ।

आफू अहिले सामान्य अवस्थामा आइसकेको र उपचारको क्रममा रहेको केटलिनले सुनाईन् । पत्रिकाले के लेख्यो भनेर आफूले अब वास्ता नगर्ने र आफ्नै ढंगले जिउने उनले बताईन् । आफुलाई मिडियामा आउने कुनै रहर नभएको र आफ्नै तरिकाले जीवन जीउने इच्छा रहेको भन्दै उनले त्यसमा आम मान्छेले चासो राख्नु जरुरी नरहेको बताइन् ।

के आएको थियो खबर ?

सन्तोष पन्तको छोरो लिंग परिवर्तन गरेर छोरी भएको खबर शुरुमा एउटा साप्ताहिक पत्रिकालेे छाप्यो । त्यसको भोलिपल्ट एउटा दैनिक पत्रमा तस्वीर सहित आयो । खबर अनुसार सानैदेखि केटीको जस्तो व्यवहार गर्ने प्रतीक पन्तले थाईल्याण्डमा उपचार गरेर लिंग परिवर्तन गरेका हुन् । केटो नामबाट छुटकारा पाउँदा आफू खुशी भएको केटलिनको भनाई थियो । अप्रेशन गर्नुअघि उनले महिला हुनको लागि हर्मोन उपचार गराइरहेका थिए । त्यसपछि तीनहप्ता अघि थाईल्याण्डको सुर्पोन क्लिनिमा आठघण्टे शल्यक्रिया गरेर उनले लिंग परिवर्तन गरेका हुन् । लिंग परिवर्तनसँगै उनले पहिलेको प्रतीक नाम परिवर्तन गरेर केटलिन् राखिन् । लिंग परिवर्तनसँगै पन्त परिवार अनि नै खुशी भएको पत्रिकामा उल्लेख छ । सानैदेखि केटीको व्यवहार गर्ने प्रतीकको १७ वर्षको हुँदासम्म दाह्रीजुंगा नआएको र डाक्टरले पनि उनमा केटी हर्मोन बढी भएकाले उपचार गर्नुभन्दा यही रुपमा स्वीकार गर्न सुझाव दिएका थिए । केटीहरुको साथमा बस्न रुचाउने र केटीको भेषमा पनि राम्री युवती देखिने भएकाले पन्त परिवारले लिंग परिवर्तन नै उचित उपचार ठानेको बताईन्छ । लिंग परिवर्तनको शल्यक्रियामा २० लाख रुपैंया खर्च भएको बुझिएको छ ।

चिकित्सकका अनुसार उनीले शल्यक्रिया गरेको ४ महिनापछि नै महिलाको पमा शारिरीक सम्पर्क गर्न सक्ने र एक वर्षभित्र पूर्ण रुपमा स्वस्थ हुनेछिन् । केटलिन अब पुरुषसँग विवाह गर्न लायक भएपनि बच्चा पाउनको लागि भने फेरि शल्यक्रिया गरेर पाठेघर प्रत्यारोपण गर्नुपर्ने चिकित्सकको भनाई छ ।

पत्रपत्रिकामा आएको खबर यिनै हो । तर यीमध्ये कुन कुरा तोडमोड गरियो भन्ने चाहिं केटलिन र पन्त परिवारले खुलाएनन् । बरु खबर सुनेका र पढेका धेरैले केटलिन तेस्रो लिंगी भएको र अहिले लिंग परिवर्तन गरेर केटी भएको भनेका छन् । ‘उनी जस्ता शारिरीक रुप भएका मान्छे नेपालमा धेरै छन् । तर पन्तसित पैसा दियो र उनले लिंग परिवर्तन गराए । अरुसित पैसा छैन, जो तेस्रो लिंगी भएर आफ्नो अधिकार खोज्दैछन् ।’

परिवार अझै अलमलमा

घरमा लक्ष्मी भित्रिएकोमा पन्त परिवार खुशी भनेर पत्रिकाले छाप्यो । तर छोरो गुम्दा कस्तो भयो भनेर चाहिं कसैले केही भनेनन् । जे होस् मान्छे उही हो । शारिरीक रुपमा मात्रै परिवर्तन भएको । पहिले छोरो, अहिले छोरी । पहिले छोरो भनिरहने मान्छेलाई छोरी भन्नुपर्दा परिवारका सदस्यलाई अझै असहज लागेको छ । ‘खै अहिले सुतिराखेको छ, बोल्न के मान्ले र’ बुबा सन्तोष पन्तले पहिले छोरो सम्झेर सम्बोधन गरे, अनि फेरि छोरी भएको सम्झे । शल्यक्रिया गरेपनि केटलिन अझै पूर्ण रुपमा स्वस्थ भैसकेकी छैनन् । अहिले पनि उनले घण्टौं कोठाभित्रै बसेर उपचार गर्नुपर्ने पन्तले सुनाए ।