पूजाले दोस्रो विवाह गर्ने निर्णय

छोरीभन्दा आमा तरुनी लिपिस्टिक पाउडरले...' चर्चित लोकगीत पूर्वनायिका तथा वर्तमान गीतकार पूजा चन्दको जीवनसाग मेल खान सक्छ। विवाह गर्ने उमेरकी छोरी -१९) की आमा पूजाले दोस्रो विवाह गर्ने निर्णय गरेपछि त्यस्तो अवसर जुर्न लागेको हो। विवाहको पूर्वतयारीस्वरूप गत शुक्रबार उनले सांगीतिक समूह द एञ्जल्सका संगीतकर्मी राजु लामासँग 'इन्गेजमेन्ट' गरेकी छिन्।

विवाहपछि उनी पूजा लामा बन्नेछिन्। विगत सात वर्षदेखि अमेरिकामा बसोबास गर्दै आएकी पूजाले उत्तिकै अवधिदेखि अमेरिकामा बस्दै आएका लामासँग दोस्रो विवाह गर्न लागेकी हुन्।
यसअघि पूजाले चलचित्रकर्मी सुरज चन्दसँग पहिलो विवाहपछि पारपाचुके गरेकी थिइन्। उनीहरूकी छोरी अहिले पूजासँगै अमेरिकामा छिन्। सांगीतिक समूहमा गायक तथा गिटारिस्टका रूपमा सक्रिय राजु लामा पनि विवाहित हुन्। लामासँग निकट एक संगीतकर्मीका अनुसार राजुले करिब १५ वर्षअघि नै निजगढकी एक युवतीसँग भागी विवाह गरेका थिए। 'एउटा छोरा र एउटी छोरी पनि छन्,' ती संगीतकर्मी भन्छन्— 'अहिले दुवै हुर्किसकेका छन्।' राजुले पनि आफ्नी जेठी श्रीमतीसँग पारपाचुके गरिसकेका छन्।