निर्माता बनेपछिको तनाव "ऋचा घिमिरेले"



फिल्म सुटिङ गर्न सुदूरपश्चिमको महेन्द्रनगर पुगेको ‘ब्रेक फेल' युनिट तनावमा छ। ‘भर्जिन लोकेसन'मा सुटिङ गर्न त्यता गएको टोलीलाई केही स्थानीय युवाले दुःख दिए। 

निर्माता समेत रहेकी हिरोइन ऋचा घिमिरेले यो घटना सह्य भएन। ‘पुलिस लगाएर ठिक पारेँ। त्यसपछिको सुटिङमा पुलिसको सहयोग टुटेन,' उनले भनिन्। हिरो हिरोइन भागेर जाने ठाउँको दृश्य खिच्न उनले शुक्लाफाँटा वन्यजन्तु आरक्षको सेरोफेरो रोजेकी थिइन्। अभिनेता राजेश हमालको अस्वस्थताले फेरि पिरोल्यो। ‘दुई सिन सुटिङ गरेपछि राजेश दाइ बिरामी हुनुभयो। हामी चितवन फर्कियौं,' रोकिएको सुटिङ बुधबारदेखि सुचारु हुने उनले जानकारी दिइन्।
फिल्मको करिब ८० प्रतिशत सुटिङ सकिएको ऋचाले बताइन्। फिल्म निर्देशन उनकै पति शंकरले गरेका हुन्। यसअघिको फिल्म ‘तुलसी' सुटिङ गर्न कास्की गएको बेला पनि स्थानीयले सहयोग नगरेको गुनासो गर्दै फर्किएकी थिइन् उनी। ‘फिल्म निर्माण गर्न साँच्चै गाह्रो रहेछ,' निर्माता बनेपछिको तनाव सुनाइन् उनले।