एक ग्राहकको मोबाइलमा २५ लाख रुपैयाँ महसुल लाइन काटिएन.

विदेशमा कन्फरेन्स कल सुविधा लिएका एक ग्राहकको मोबाइलमा २५ लाख रुपैयाँ महसुल उठेको टेलिकमले जानएको छ र यति धेरै रकम कसरी उठ्यो भन्ने बारेमा टेलिकमले कारबाही थालेको छ।अन्तर्राष्ट्रिय कन्फरेन्स कल सुविधा लिइएका ९ वटा मोबाइलमा दुई साताबीच ५० हजारदेखि २५ लाख रुपैयाँसम्म महसुल उठ्दासमेत लाइन काटिएन। तीनहजार रुपैयाँ धरौटी नाघ्नासाथ अटोमेटिक लाइन काटिनुपर्ने प्रविधि जडान भए पनि नकाटिएपछि विलिङमा कार्यरत कर्मचारीमाथि व्यवस्थापनले कारबाही सुरु गरेको छ। भिओआइपीमा टेलिकम कर्मचारीकै मिलेमतो रहेको आरोप लागिरहेका बेला यो घटनाले कर्मचारीको संलग्नता प्रमाणित गरेको छ।झन्डै दुईसातासम्म ती मोबाइलबाट सिधा टेलिफोन गर्दा महँगो शुल्क भएको र इन्टरनेट फोनसमेत महँगो पर्ने देशहरूमा कल भएको थियो। जिएसएम र सिडिएमएका ९ वटा मोबाइल यसरी प्रयोग गर्दा दुई सातामा ८६ लाख रुपैयाँ महसुल उठेको छ।कन्फरेन्स कल सुविधा दिने अधिकार माथिल्लो तहका कर्मचारीलाई मात्र हुने भएपछि कपिलवस्तु कृष्णनगर काउन्टरका कर्मचारी आफैंले सो सुविधा दिएकाले लाखौंको कल हुँदा पनि लाइन नकाटिएको हो।स्रोतका अनुसार कृष्णनगर कार्यालयबाट किसकन्हैया कुर्मीको नाममा जारी ९८५७०-५५७४९ नम्बरको मोबाइलमा गत वैशाख अन्तिम र जेठ पहिलो साता २४ लाख ३९ हजार महसुल उठेको थियो।
त्यस्तै, असगर अलीको नाममा जारी ९८५७०-५००११ मा २० लाख, अब्दुल मन्नेस खाँको नाममा जारी ९८५७०-५५५९१ मा १५ लाख ५५ हजार, असगर अलीकै नाममा जारी ९८५७०-५५६५० नम्बरको मोबाइलमा मा १४ लाख रुपैयाँ महसुल उठेको थियो।त्यस्तै, साहबुद्दिन मियाको नाममा जारी ९८५७०-५०३२० नम्बरमा एकलाख १५ हजार, रामकृपाल भुजको नामको ९८५७०-५५१४८ मा एकलाख ५६ हजार र साहबुद्दिन मियाकै नामको अर्को ९८५७०-५५१४९ नम्बरमा मा दुईलाख रुपैयाँ महसुल उठेको छ। सिडिएमएतर्फ असगर अलीको नाममा जारी ९७५७०-०९७४९ मा ६ लाख र रामकृपाल भुजको नाममा जारी ९७५७०-०१७४८ मा ५० हजार रुपैयाँ महसुल उठेको थियो।
टेलिकमको कृष्णनगर कार्यालयले जेठ तेस्रो साता मोबाइल लिने ग्राहकलाई कारबाही गर्न केन्द्रीय कार्यालयलाई अनुरोध गरेको थियो। कारबाही गर्नेतर्फ सुरुमा उच्च व्यवस्थापन तयार देखिए पनि अहिले निस्त्र्किय रहेको आरोप कर्मचारी युनियनहरूको छ।
व्यवस्थापन अहिले विलिङमा कार्यरत कर्मचारीलाई कारबाही गर्नुभन्दा पनि मोबाइल जारी भएका ग्राहकबाट रकम असुल्नेतिर तिर लागेको छ। तर निम्न आर्थिकस्तरका ती सर्वसाधारणको नाममा मोबाइल लिएर नेपालबाटै सस्तो भिओआइपी गराउने गिरोहले सिमकार्डबाट विदेशमा कन्फरेन्स कल गराएको अनुमान छ।