नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठको आज देशभर विविध कार्यक्रम गरी ३४ औं स्मृति दिवस मनाइदैछ ।
दिवसका अवसरमा एमाले अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री झलनाथ खनालले कीर्तिपुरको चम्पादेवी पुगेर त्यहाँ रहेको पुष्पलालको शालिकमा माल्र्यापण गरी श्रद्धान्जली अर्पण गर्नुभएको छ ।
यस्तै दिवसको अवसर पारेर एमाले सम्बद्ध विभिन्न संघ संगठनले आज मुलुकभर विभिन्न कार्यक्रम गर्ने सो पार्टीले जनाएको छ । राजनीतिक जीवनमा कडा आलोचना गर्नेहरुले पनि औपचारिकता पूरा गर्न पुष्पलाललाई सम्झदैछन् ।
पुष्पलाल श्रेष्ठ वाम–प्रजातान्त्रिक एकताका सूत्रधार मानिनुहुन्छ । पुष्पलाल वामपन्थीहरुका प्रेरणाका श्रोत, कुशल सिद्धान्तकार, राजनीतिज्ञ र एक सम्मानित व्यक्तित्व हुनुहुन्थ्यो ।पुष्पलाल वामहरुका बीचमात्र होइन, सिंगो प्रजातान्त्रिक आन्दोलनकै उँचो व्यक्तित्व सावित हुनु भएको छ । उहाँकै पथमा नेपालका वामपन्थी र प्रजातान्त्रिक शक्ति लम्कँदा १०३ बर्षे जहाँनियाँ राणा शासन र २३८ बर्षे निरंकुश शाहवंशीय शासनसत्ताको अन्त्य सम्भव भएको थियो । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक श्रेष्ठको विचार र पथमा नेपाली कम्युनिष्ट नेताहरु नहिँडेको टिप्पणी गर्नेहरु पनि प्रशस्तै छन् । वि.सं. १९८१ मा रामेछापमा जन्मनुभएका उहाँको २०३५ साल साउन ७ गते आजैका दिन निधन भएको थियो ।
