अभिनेत्री पूजा चन्दको बिहे 'जलवायु परिवर्तनले' अवरोध

अभिनेत्री पूजा चन्दको बिहेमा 'जलवायु परिवर्तन' अवरोध बनेको छ । क्लाइमेट चेन्जका कारण अमेरिकामा परेको बेमौसमी हिमपातपछि नायिकाले आफ्नो विहेको मिति नै पोस्टपोन्ड गरेकी छिन् । फेसबुकको भित्तोमा पूजाले आफ्नो विहे अर्को वर्ष हुने उल्लेख गरेकी छिन् । एनआरएन पपगायक राजु लामा (मंगोलियन हार्टका होइनन)सँग पूजाले केही महिनापहिले इन्गेजमेन्ट गरेकी थिइन् । 

‘स्नो फलिङले चिसो बढिरहेको छ । यो हिमपातको मौसम नै होइन । त्यतिमात्र होइन, विहेका लागि पनि यो मौसम उपयुक्त होइन’ पूजाले लेखेकी छिन्, ‘मौसम र यहाँको वातावरणअनुसार डिसेम्बरसम्म विहे गर्नु उपयुक्त होइन । त्यसैले विहेचाहिँ अर्कोवर्षतिर गर्ने प्लान गरेका छौं ।’ उनका अनुसार सम्भवतः सन् २०१२ को मेतिर विहे हुनेछ । 

पूर्वपति सुरज चन्दसँगको सम्बन्धविच्छेदपछि पूजा लामो समयदेखि अमेरिकामा छोरीका साथ बस्दै आएकी छिन् । ग्रीनकार्ड लिएर मेरिल्यान्डमा बसिरहेकी पूजा अहिले राजुसँगै रहेकी छिन् । अर्को एक स्टाटसमा पूजाले हलोविन पर्व आफूहरूले अमेरिकामा धुमधामसँग मनाएको पनि उल्लेख गरेकी छिन् ।