बाहिर रहेका लडाकु बर्गीकरणमा सहभागी हुन शिविर फर्कन थालेका छन् । डिभिजनले उनीहरुलाई आवश्यकताको आधारमा घरमा बस्न, उपचार गर्न र अन्य बाध्यकारी अवस्था बमोजिम शिविर बाहिर बस्न सुविधा दिँदै आएको हो । फर्कनेमा घाइते, सुत्केरी, अशक्त, घर बिदामा बसेकाहरु छन् ।
उनीहरुलाई शिविर बाहिर बस्ने अधिकार तत्कालिन अनमिन, लडाकु समायोजन विशेष समिति, माओवादी र सरकारका तर्फबाट प्रदान भएको थियो । शिविर फर्कने मध्ये घाइते विष्णु गायक पनि एक हुन् । ०५६ सालदेखि माओवादी युद्धका मोर्चामा रहेर काम गर्दा उनी घाइते भए । तर उनलाई अनमिनले योग्य लडाकुको दर्जा दिएकले सरकारी तलब घरमा बसेर बुझिरहेका छन् ।
चितवन अयोध्यापुरी–६ माडी घर भएका ४२ वर्षीय गायक बुधबार शक्तिखोर शिविरको मुख्यालय गेटमा भेटिए । ‘पर्सीदेखि वर्गीकरण छ भनेर बोलाएपछि आएको हुँ,’ बैशाखीको सहारामा उभिँदै उनले भने, ‘ढिलै भएपनि समायोजन र पुनर्स्थापना हुने भएको छ, खुसी लागेको छ ।’ आफू घाइते र अशक्त भएकले रकम लिएर अवकासमा जाने उनले बताए ।
गायकले युद्धमा जति लडिए पनि अब भने शान्ति कायम हुनुपर्ने चाहना व्यक्त गरे । ०५९ सालमा रोल्पाको खारा भीरबाट लडेर उनी घाइते भएका थिए । उनी जस्ता लडाकु समायोजन तथा पुनर्स्थापनाका लागि वर्गीकरणको दिन तोकिएकाले घर जानेहरु शिविर फर्कने क्रम अघिल्लो सातादेखि सुरु भएको छ । अनमिनसँग भएको सम्झौता बमोजिम १२ प्रतिशत लडाकुले एकैचोटि बिदा पाउँछन् । बिदामा बसेका झण्डै ५० प्रतिशत भन्दा बढी लडाकु शिविर फर्किसकेको डिभिजन मुख्यालयले जनाएको छ ।
