नेपाली चलचित्रमा कन्टेम्पोररी र ब्यालेट डान्स भित्रिने भएका छन्

कुनैबेला थियो –राजेश हमाल र कृष्टि मैनालीको कम्मर मर्काइमा दर्शकहरू मनोरन्जन लिन्थे । तर, बदलिँदो सिनेमा प्यार्टनले नृत्यका शैलीहरूमा जसै परिवर्तन ल्याउँदै गयो, उति नै दर्शकहरू नृत्यका आधुनिक शैलीहरूको पारखी बन्न थाले । नेपाली सिनेमामा हिपहप, बी–बोइङ र बलिउड ढर्राका डान्सबाट वाक्क भैसकेका दर्शकका लागि खुशिको खबर –अर्को महिनादेखि नेपाली चलचित्रमा कन्टेम्पोररी र ब्यालेट डान्स भित्रिने भएका छन् ।चलचित्र निर्देशक र दर्शकको माग थाम्नै कठिन भएपछि समकालिन नेपाली चलचित्रकी व्यस्त कोरियोग्राफर रिनासा राई आगामी विहिबार डान्स ल्याउन थाइल्यान्ड बैंकक उड्दैछिन् ।

डान्स ल्याउनुको अर्थ डान्स ट्रेनिङ लिने । तीनमहिनासम्म उनले बैंककस्थित रुमपुरी वल्र्ड डान्स स्टुडियोमा फ्रेन्च कोरियोग्राफर प्याट्रिक लरेन्ससँग नृत्यका विधाबारे कौशलता सिक्नेछिन् । ‘बढ्दो माग र नयाँ भित्राउनुपर्ने आवश्यकताले ट्रेनिङ लिन जान लागेकी हुँ’ बैंकक यात्राबारे रिनासाले भनिन् ।के हो कन्टेम्पोररी डान्स ? स्लो वीटका सेन्टिमेन्टल गीतहरूमा लचकता र जिम्नास्टिकका कला प्रदर्शन गर्दै नाचिने आधुनिक नृत्य कन्टेम्पोररी हो । यो सन्दर्भमा कन्टेम्पोररीको अर्थ (समकालिन) भन्ने होइन । खासगरी लभसङमा यो नाच प्रभावकारी हुन्छ । ब्यालेट विशुद्ध पश्चिमेली नृत्य हो जुन पनि स्लो वीटका लभसङमा नाचिन्छ । यो स्लो र स्मुथ हुन्छ । स्याड सङलाई पनि ब्यालेट नृत्यले दर्शाउन सकिन्छ । ‘पहिले अंगहरू देखाउने र कम्मर मर्काउने मात्र गरिन्थ्यो’ राई भन्छिन्, ‘अब दर्शकले हरेक नृत्यमा विविधता र डाइभर्सिटी खोज्न थाले ।’ रिनासाले रुमपुरीमा तीनमहिने कोर्स लिनेछिन् ।