ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सुनाइएका माओवादी सभासद् बालकृष्ण ढुङ्गेललाई माफी दिए मृतकका आफ्न्तहरुले न्यायका लागि अन्तर्राष्ट्रिय अदालतमा जाने बताएका छन् ।
मिडिया भिजन नेपालद्धारा आज राजधानीमा आयोजित ‘जन्मकैद पाएका सभासद्लाई माफीको सिफारिस गर्ने निर्णय कति जायज ?’ विषयक अन्तरक्रिया कार्यक्रममा राष्ट्रपतिले ढुङ्गेललाई माफी दिन नहुने भन्दै त्यसो गरिए न्यायका लागि अन्तर्राष्ट्रिय अदालतसम्म जाने आफ्न्तले बताएका हुन् ।
सभासद् ढुङ्गेलले ओखलढुङ्गाका उज्जलकुमार श्रेष्ठको ०५५ असार १० गते गोली हानी हत्या गरेको ठहर गर्दै सर्वोच्चले ०६६ पुस १९ गते सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो । उज्जलकी दिदी सावित्रा श्रेष्ठले सरकारले ढुङ्गेललाई माफी दिन राष्ट्रपति कहाँ सिफारिस गरे पनि राष्ट्रपतिले माफी नदिने दाबी गर्दै अपराधीलाई राजनीतिक दलले संरक्षण दिएकोप्रति गुनासो व्यक्त गर्नुभयो ।
उहाँले ढुङ्गेलको आफ्न्त पर्ने काहुनी जातकी बैनी पर्ने विवाह गरेको व्यक्तिगत रिसइबीका कारण आफ्नो भाइको हत्या गरिएको भन्दै ओखलढुङ्गास्थित आफ्नो घर जग्गा सबै माओवादीले कब्जा गरेको बताउनुभयो
मानवअधिकारकर्मी सुशील प्याकुरेलले देशमा दण्डहीनता बढ्दै गएको भन्दै ढुङ्गेललाई माफी दिनु कानुन, संविधान र लोकतन्त्रको हस्तक्षेप हुने बताउनुभयो ।
