बुढेसकालको संघारमा कोमल ओली चलचित्रकी नायिका बन्ने भएकी छिन्

‘झ्वाँक तन्नेरी’ र ‘पोइला जान पाम’ गायिका कोमल ओलीको परिचय बदलिने क्रममा छ । रेडियोकर्मी र लोकगायिकाको परिचय बनाएकी कोमल अब भने चलचित्र नायिका बन्ने भएकी छिन् । बुढेसकालको संघारमा कोमल हिरोइनका रुपमा सिनेमा डेब्यु गर्न लागेकी हुन् । कोमल हिरोइन बन्ने सिनेमा ‘दबदबा’लाई आइतबार रिपोटर्स क्लवमा आयोजित समारोहमा मुहूर्त गरियो । 
लागुपदार्थ दुब्र्यसनबारे बन्न लागेको सिनेमालाई अग्रज केसीले लेखन र निर्देशन गर्नेछन् । चलचित्र विकास बोर्डका अध्यक्ष गणेश भण्डारी र निर्देशक लक्ष्मीनाथ शर्माले संयुक्तरुपमा सिनेमा शुभारम्भ गरे । पदमप्रसाद सापकोटा, शम्भु थापा र कल्याण शाहले मिलेर निर्माण गर्न लागेको चलचित्रमा गणेश उप्रेती, कोमल ओली, विशाल पोखरेल, आर्जु अधिकारी लगायतको अभिनय रहनेछ । 
सो अवसरमा बोल्दै अध्यक्ष भण्डारी, निर्देशक शर्मा र रिपोटर्स क्लवका अध्यक्ष ऋषि धमलाले नेपाली युवाको वर्तमान समस्यालाई चित्रण गर्न लागिएको सिनेमाको प्रशंसा गरे । यसअघि थुप्रै सिनेमा लागुपदार्थ दुब्र्यसनबारे बनेपनि ‘दबदबा’को प्रस्तुतिकरण पृथक हुने निर्देशक केसी बताउँछन् । चलचित्रका अधिकांश कलाकार नयाँ छन् ।