प्रधानमन्त्री बन्नुअघि बाबुराम भट्टराईले अनिल कपुरको हिन्दी फिल्म 'नायक' हेरेका थिए रे

तपाईँले यदि सिनेमा बनाउने कथा र पात्र पाइरहनुभएको छैन भने मान्नुस –वर्तमान प्रधानमन्त्री बाबुराम भट्टराई त्यसका फिट पात्र हुन् । 'बायोपिक जनर'का सिनेमा रुचाउने दर्शकका लागि भट्टराईको जीवनकथा राम्रो स्क्रिप्ट बन्न सक्छ । प्रधानमन्त्री बनेयता बाबुरामका लोकप्रिय कामहरू हेर्दा लाग्छ –उनी हिन्दी सिनेमा 'नायक'का हिरो अनिल कपुर हुन् । बरु, कपुर त रिलका मात्र हिरो बने, बाबुराम त रिएलका हिरो बनिरहेका छन् । 

उनी बालुवाटार छिरेदेखिको कामलाई फिक्सन तुल्याउने हो भने मज्जाको कथा बन्छ । सपथदेखि नै नेपालमै बनेको गाडी मुस्ताङ म्याक्स चढेर वाहीवाही कमाएका बाबुरामले त्यसपछि न्यूरोडमा किरा परेको गुदपाकमा ताला लगाए । बालुवाटारमा चियापान गरेर चलचित्रकर्मीलाई खुशी पार्ने प्रयत्न गरे । जेपिटी बोल्ने दुई मन्त्रीलाई तह लगाए ।
रेडियो नेपाल र नेपाल टेलिभिजनमा जनतासँग प्रधानमन्त्री कार्यक्रम चलाए । माइती नेपालमा पिङ खेले । यतिबेला, उनै बाबुरामले स्थापना गरेको 'हेलो सरकार' हटलाइन चर्चा र प्रशंसाको विषय बनेको छ । जनताका प्रत्यक्ष गुनासा सुन्न बाबुरामले डिजाइन गरेको यो आइडियाले धेरैजनालाई राहत दियो र दिइरहेको छ । यतिबेला उनै बाबुरामलाई लिएर एउटा हल्ला चलेको छ –प्रधानमन्त्री बन्नुअघि उनले अनिल कपुरको हिन्दी फिल्म 'नायक' हेरेका थिए रे ! 
यही फिल्मले बाबुरामलाई राम्रो काम गर्ने ऊर्जा दिएको हो रे ! के साँच्चिकै उनी 'नायक' हेरेरै प्रधानमन्त्री बनेका हुन् ? यदि, यस्तो हो भने चलचित्रकर्मीका लागि योभन्दा खुशिको कुरा अरु हुनैसक्दैन ।