दूरसञ्चार सेवा प्रदायक कम्पनीहरूले पछिल्लो समयमा डाटा सेवातर्फ ध्यान केन्द्रित गर्न थालेका छन् । बढ्दो मोबाइल प्रयोगसँगै डाटा सेवा लिनेको संख्या बढेपछि दूरसञ्चार सेवा प्रदायक कम्पनीले जीपीआरएस, सीडीएमए र एडीएसएलको डाटातर्फ सेवा विस्तारमा ध्यान केन्द्रित गरेका हुन् ।सरकारी स्वामित्वको नेपाल टेलिकम, निजी क्षेत्रको एनसेल र यूटीएल टेलिकमले डाटा सेवा दिँदै आएका छन् । तारसहितको इन्टरनेट सेवाका ग्राहकमा उल्लेख्य वृद्धि नभए पनि तारबिनाका ब्ल्याकबेरी, थर्ड जेनेरेसन (थ्रीजी) र सेकेन्ड जेनेरसन (टुजी) तर्फका पोस्टपेड तथा प्रिपेड मोबाइल प्रयोगकर्ताले डाटा सेवा लिने क्रम बढेको सम्बन्धित कम्पनीहरूले जनाएका छन् ।त्यसैगरी ‘कोड डिभिजन मल्टिपल एक्सेस’ (सीडीएमए) र ‘एज्युममेट्रिक डिजिटल सब्सक्राबर लाइन’ (एडीएसएल) लिने ग्राहकको चाप डाटा सेवामा बढ्दै गएको टेलिकमले जनाएको छ । टेलिकमका अनुसार डाटा सेवामा आएको वृद्धिले आम्दानीमा राम्रो परिवर्तन आएको छ ।नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो तथ्यांकअनुसार २४ लाख २६ हजारले डाटा सेवा लिएका छन् । यो कुल जनसंख्याको ८.४९ प्रतिशत हो ।
मोबाइलको बढ्दो प्रयोगले इन्टरनेटको पहुँच वृद्धि भएको अनुमान प्राधिकरणको छ । ग्रामीण क्षेत्रमा साधारण टेलिफोन नपुगेको क्षेत्रमा मोबाइलमा इन्टरनेट चल्न थालिसकेको छ ।जीपीआरएस (जनरल प्याकेट रेडियो सर्भिस) को माध्यमबाट इन्टरनेट प्रयोग गर्नेको संख्या २१ लाख नाघिसकेको छ । मोबाइलमै इन्टरनेट जडान सहज, सरल र लोडसेडिङको समयमा समेत चलाउन सकिने भएकाले जीपीआरएसका ग्राहक छिटो समयमै २१ लाख नाघेका हुन् । दोस्रो पुस्ता (टुजी) का प्रिपेड तथा पोस्टपेड मोबाइलमा जीपीआरएस लिने कुल डाटा प्रयोगकर्ता करिब ७० प्रतिशतभन्दा धेरै भएको अनुमान सेवा प्रदायक कम्पनीहरूको छ ।
साधारणभन्दा मल्टिमिडिया चल्ने मोबाइलमा ग्राहकको आर्कषण बढेको छ । मल्टिमिडिया सुविधा भएको मोबाइलमा आफ्नो अनुकूल समयमा जुनसुकै स्थानबाट इन्टरनेट चलाउन सकिने भएकाले युवापुस्ताको आर्कषण बढेको हो । एनसेलका अनुसार पछिल्लो समयमा जीपीआरएस ‘एक्टिभेट’ गर्नेको संख्या बढेको छ । प्रति सय किलोवाइट्स ६ पैसाका दरले ग्राहकले शुल्क तिर्नुपर्ने कम्पनीले जनाएको छ ।
टेलिकमका अनुसार जीपीआरएस सेवा प्रयोग गरेबापत ग्राहकले प्रति सय किलोवाइट्स १५ पैसा तिर्नुपर्छ । कम्पनीले ‘अनलिमिटेड’ सेवामा मासिक ६ सय रुपैयाँ शुल्क निर्धारण गरेको छ । डाटा सेवाका विषयमा यूटीएलले भने कुनै तथ्यांक उपलब्ध गराउन चाहेन ।
एनसेल र टेलिकम दुवै कम्पनीले ‘एक्टिभेसन’ निःशुल्क गरेका छन् । डाटा सेवामात्रै दिएका इन्टरनेट सेवा प्रदायक कम्पनीका ग्राहक ६५ हजारमात्रै छन् । दूरसञ्चार सेवा प्रदायकको तुलनामा इन्टरनेट सेवा प्रदायकका ग्राहक बढ्न सकेका छैनन्