टोलीको कप्तानी खोसिएपछि अफ्रिदीले क्रिकेटबाट संन्यास लिए

एकदिवसीय टोलीको कप्तानी खोसिएपछि दुःखी भएका पाकिस्तानका अलराउन्डर शहिद अफ्रिदीले क्रिकेटबाट संन्यास लिएका छन्। अफ्रिदीले पाकिस्तानको एक टेलिभिजन च्यानलसँग कुरा गर्दै आफूले वरिष्ठ क्रिकेट खेलाडीको इज्जत गर्न नसक्ने क्रिकेट बोर्डअन्तर्गत खेल्न नसक्ने बताए। आफूले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने निर्णय गरेको बताउँदै उनले भने, 'बोर्डअन्तर्गत खेल्ने मेरो मानसिक स्थिति छैन।' अफ्रिदीले गतवर्ष नै टेष्ट क्रिकेटबाट संन्यास लिएका थिए। तर उनलाई एकदिवसीय क्रिकेट टोलीको कप्तान बनाइएको थियो।३१ वर्षीय अफ्रिदीको नेतृत्वमा नै पाकिस्तानी टोली विश्वकपको सेमिफाइनलसम्म पुगेको थियो। सेमिफाइनलमा पाकिस्तान चिरप्रतिद्वन्द्वी भारतबाट पराजित भएको थियो। हालै भएको वेस्ट इन्डिज भ्रमणमा टिमका व्यवस्थापकका दिएको वयान प्रति पाकिस्तान क्रिकेट बोर्ड (पिसिबी) अफ्रिदीसँग असन्तुष्ट भएको थियो।
उनले एक संवाददाता सम्मेलनमा आफूलाई आफ्नो काममा हस्तक्षेप मन नपर्ने बताएका थिए। 'सबैले आफ्नो जिम्मेवारी महसुस गर्दै काम गर्नु पर्छ।' उनले भनेका थिए,'सबैले आआफ्नो जिम्मेवारीको काम पुरा गरे समग्रमा टिमलाई फाइदा हुन्छ।' अफ्रिदीको यस भनाई पछि रिसाएको पिसिबीले उनलाई एक दिने टिमको कप्तानबाट हटाएको थियो। उनको स्थानमा पिसिबीले टेष्ट टिमका कप्तान मिसवाह उल हकलाई कप्तान बनाएको थियो।विस्फेटक ब्याट्सम्यान र लेग स्पिनर अफ्रिदीले पाकिस्तानका लागि २७ टेष्ट, ३ सय २५ एक दिने अन्तर्राष्ट्रिय म्याच र ४३ ट्वान्टी-२० म्याच खेलेका छन्।