नेपाली फिल्म हेर्ने दर्शक को अभाव

मेरो घर झापा भद्रपुर र हामी ८ जना दाजुभाई दिदी बहिनीहरु । म सानो हुंदा हाम्रो छापाखाना थियो । हाम्रो छापाखानामा झापावाट निस्कने पत्रिकाहरु छापिन्थे । त्यसकारण पत्रकार, साहित्यकारहरुसंग सम्पर्क  भईरहन्थ्यो । झापामा त्यसवेला लिला उदासी, दोणाचार्य क्षेत्रीहरुले पञ्चामृत, नकुल काजीले विवेचना र भवानी घिमीरेले भानु निकाल्नु हुन्थ्यो । म वाहाहरुवाट प्रभावित थिए । भवानी घिमिरे मेरो बुवाको साथी हुनुहुन्थ्यो, म वाहालाई काका भन्थे ।
स्कुलमा ५-६ कक्षामा पढ्दा पहिलो चोटी मैले कविता लेखे । कविता सुन्नेले यो तैले आफै लेखेको कविता हो भनेर मलाई सोध्नु भयो । यो मैले लेखेको हैन हिन्दीवाट अनुवाद गरेको भनें । धत् लाटा कविता अनुवाद गर्ने हो त आफैले पो लेख्नु पर्छ त भन्नु भयो । त्यसपछि आफैले कविता लेख्न थाले । म साहित्यका क्षेत्रमा कविता मात्र लेख्छु । स्कुलमा पढ्दा स्कुलस्तरिय कवि गोष्ठी-प्रतियोगिताहरुमा भाग लिन थाले । मैले धेरै पटक पुरस्कार जितेको थिए त्यसवेला । पुरस्कार पाए पछि त झन हौसला बढ्दो रहेछ नि वच्चा वेलामा । स्कुल पछि भने म पढ्न काठमाडौ गए ।
म स्कुल मै पढ्दा मेरा मान्यजनहरुले झापा भनेको जालि फटाहाको ठाँउ हो त्यसवाट बच्न यसलाई कानुन पढाउनु पर्छ भन्नुहुथ्यो । त्यसैले जर्वजस्ती म कानुन पढन ल क्याम्पसमा भर्ना भए । त्यही क्याम्पसमा अहिले म पढाउछु पनि । म कलेज गएको बेला कलेजमा चर्को राजनिति थियो । मलाई भने राजनितिले छोएन । मेरा वुवाले आदर्शको राजनिति गर्नु भयो त्यसकारण घरको आर्थिक अवस्था चौपट थियो । मैले क्याम्पस पढ्दा घरमा पैसा माग्ने अवस्था नरहेकोले जागिर खादै पढ्दै गरे । सायद यसै कारण हुनुपर्छ मलाई क्याम्पसको राजनितिले मोहित नगरेको ।
क्याम्पसमा पढ्दाको समयमा मैले नाटकहरुमा खेले । त्यसवेला एकेडमीको नाटक महोत्सवमा ‘वेष्ट एक्टर्स’  को ‘अवार्ड’ जितेको थिए । अरु पनि विभिन्न महोत्सव प्रतियोगिताहरुमा थुप्रै पटक पुरस्कार जितेको छु । अभिनय पनि साहित्यसंगसगै गईरह्यो ।
साहित्यिक गतिविधिका क्रममा गोजीमा राख्ने एउटा सानो साहित्यीक पत्रिका गोजीका निकाल्दै थियौ । त्यसका लागि मुक्तकहरु, गितहरु लिनका लागि निर शाहसंग भेट भएको थियो । साहित्यीक सामाग्री लिने क्रममा वाहाँसंग भेटघाट धेरै पटक भयो । त्यसवेला वाहाँहरु नेपाल टेलिभिजन खोल्ने तयारीमा हुनुहुदो रहेछ । वाहाँले मलाई राजेन्द्रजी ल तपाई पनि टेलिभिजनमा संलग्न हुनुस र साहित्यीक कार्यक्रमम चलाउनुस भन्नु भयो । यसरी म टेलिभिजनका क्षेत्रमा प्रवेश गरे ।
नेपाल टेलिभिजनमा साहित्यीक कार्यक्रम निर्माण गर्ने क्रममा मैले कथा कवितालाई मञ्चन गर्ने काम पनि गरे । टेलिभिजनमा काम गर्दै ‘ड्रामा भिज्यूलाईज’को ‘पार्ट’ पनि सुरु भयो । टेलिभिजन कार्यक्रम बनाई रहेकै वखत झापाको एक जना मेरो साथीले ल अव किन सानो पर्दामा मात्र काम गर्ने ठूलो पर्दामा सिनेमा बना, कति पैसा लाग्छ म हालिदिन्छु भन्यो । त्यो कुरा मैले शैलेश आर्चायलाई भने l  त्यसवेला म, ब्रजेश खनाल, रमण घिमिरे र शैलेश आर्चाय ‘इन्भल्व’ भएर उर्वसी भन्ने म्यागजिन निकाल्थ्यौ । शैलेश आर्चाय त्यसको सम्पादक हुनुहुन्थ्यो । शैलेश आर्चायले ल गर्न हो भन्नु भयो , ब्रजेश पनि लाग्यो, हामी सबै ल्याग्यौ । सिनेमा बनाउने पक्का भयो ।
सिनेमा बनाउनका लागि मैले आफु डाईरेक्सन नगरौ  र अरुलाई डाईरेक्सन गराउ भन्ने सोचेर एक दुइ  जना डाईरेक्डरहरुसंग कुरा गरियो । वाहाँहरुले त निक्कै ठूल- ठूला कुरा गर्नु भयो । यस अवस्थामा हाम्रो टिमले निर्णय  गर्यौ  । आफै किन नगर्ने ?  सवैले ल राजेन्द्रले गर्ने भनेपछि परिस्थीतिले मलाई डाईरेक्टर बनायो । हामीले ‘विजय परायज’को काम सुरु गर्यौ ।
सेल्युलाईटमा काम गर्न त टेलिभिजनमा काम गर्दा भन्दा सजिलो पो हुदो रहेछ । टेलिभिजन कार्यक्रममा काम गर्दा प्रोड्युसर , डाईरेक्टर, प्रोडक्सन म्यानेजर सवै आफै हुन पर्ने तर सेल्युलाईटमा काम गर्दा त निर्देशनको काम मात्र हुने , अरु काम त अरुले नै हेर्दिने । सेल्युलाईटमा एउटा मात्र अप्ठयारो भनेको मनिटर  हेर्न  नपाईने हो । सेल्युलाईटमा फस्ट फ्रेम  र लास्ट फ्रेम मात्र हेर्ने  हो बाँकी  त क्यामाराम्यानमा भर पर्छ । त्यसैले सेल्युलाईटमा काम गर्दा क्यामाराम्यान भरपर्दो  हुन जरुरी छ ।
मैले चार वटा फिल्ममा डाईरेक्सन गरे । तिनवटा फिल्म बनाएपछि मलाई फिल्म बनाउन मन लागेन , चौथो चाहिं साथीका करले निक्कै पछि बनाएको हो । काम गर्न मन नलाग्ने कारण भनेको ‘वेभ लेन्थ’ नमिलेर हो । सोचे जसरी काम गर्नै पाईदैन । तिन वटा ‘फाईट’ चारवटा गित यस्तै यस्तै । यस्तो फिल्म बनाउनु भन्दा नबनाउनु नै बेस लाग्यो । बरु टेलिभिजन कार्यक्रम निर्माणमा ’फ्रिडम’  हुन्छ त्यसैले टेलिभिजन तिरै लागियो । निक्कै ठूल ठूला ‘सो’ हरु गरियो, निजी क्षेत्रको ठूलो स्टुडियो बनाईयो । नाफा घाटाको कुरा आफ्नै ठाउमा छ ।
नेपाली चलचित्र क्षेत्रको कुरा गर्दा हामी कहाँ राम्रा राम्रा कलाकारहरु छन । नाटकका क्षेत्रमा पनि त्यस्ता थुप्रै कलाकारहरु छन , फिल्मका क्षेत्रमा पनि छन । तर कथामा भिज्न चाहनेहरुको कुरा गर्दा भने निक्कै गार्हो  छ । कथाले गाँउको सामान्य मान्छे मागेको हुन्छ, कलाकार सामान्य बन्नै नचाहने । चिटिक्क नै पर्नु पर्ने । यस कारण नेपाली चलचित्र क्षेत्रमा निर्देशक बिचरो छ ।
निर्देशक पनि सबै थरीका छन । एक थरी निर्देशक निर्माताले भनेको मात्र मानेर फटाफट सिनेमा बनाउनेहरु छन । यस्ता निर्देशक देखि निर्माता पनि खुशी आफुले भनेको जस्तो गर्यो भनेर , अनि निर्देशक पनि खुशी यतिवटा फिल्म बनाए भनेर । यस सगै राम्रो सिनेमा बनाउने निर्देशकहरु पनि छन । अलिकति आफ्नो कुरा र अलिकति लगानिकर्ताको कुरा राखेर फिल्म बनाउनेहरु पनि छन ।
नेपाली सिने क्षेत्रको समस्या भनेको पैसा हो । पैसा ल्याउने अथवा लगाउने मान्छे भनेको प्रोड्युसर हो । नेपाली फिल्ममा प्रोड्युसर यति हावी हुन्छ की यसले डाईरेक्टरलाई केहि गर्नै दिदैन, आफुले भने अनुसार फिल्म बना भन्छ । जब कि हुन पर्ने के हो भने डाईरेक्टरले म यस्तो सिनेमा बनाउछु , म संग यस्तो ‘स्क्रीप्ट’ छ भनेपछि त्यसमा लगानी गर्न प्रोड्युसर आउनु पर्ने हो । तर हामी काहा ठिक उल्टो छ । अरु तिर सबै कुराको संयोजन गर्ने प्रोड्युसर हुन्छ , निर्देशन गर्ने काम निर्देशकले गर्छ र  फाईन्यान्ससरले चाहिं फाईन्यान्सको मात्र काम गर्छ । तर हामी कहा लगानी गर्ने नै प्रोड्युसर हुने हुनाले बढि् हावी हुने हो । फेरी हाम्रा प्रोड्युसरले वितरकसंग सल्लाह माग्छन, वितरकले यस्तो भए वा उस्तो भए पैसा कमिन्छ भन्दिएको हुन्छ । उदाहरणको लागि राजेश हमालको चारवटा फाईट राखे मज्जाले पैसा उठ्छ भन्दीन्छ । अनि प्रोड्युसरका दिमागमा राजेश हमालको चारवटा फाईट बाहेक केहि पनि हुदैन । कथाले जे सुकै मागोस उसको रटाई भनेको चारवटा फाईट नै हो । त्यसकारण अरु देशमा हेर्ने  हो भने फिल्म भनेको डाईरेक्टर मिडिया हो । तर हाम्रो देशमा भने जहिले पनि प्रोड्युसर मिडिया भयो ।
सव भन्दा पहिले हामीले हाम्रो सिनेमाको बजार हेर्नु  पर्यो । हाम्रा सिनेमा कति दर्शकले हेर्छन  ?  हाम्रो जनसंख्या लगभग तिन करोड छ । तिन करोडको तिन प्रतिशतले मात्र पनि दश लाख हुन आउछ । यदि १० लाख मान्छेले ३० रुपैयाका दरले हाम्रो सिनेमा हेर्ने  हो भने ३ करोडको व्यापार हुनु पर्ने हो । तर त्यत्ति त भै रहेको छैन । त्यसकारण ३ प्रतिशत सम्मले नहेर्ने  हाम्रो वजारको अवस्था छ । यसमा सुधार ल्याउनका लागि हामीले मौलीक सिनेमा बनाउनु पर्यो । यसवारे बुझ्न प्रयत्न   गर्नु पर्यो । नेपाली सिनेमा कस्तो हुन्छ भन्दा हिन्दी जस्तो हुन्छ भनेर त भएन नि । नेपाली सिनेमा नेपाली जस्तो हुनु पर्छ । हिन्दी अथवा अग्रेजी जस्तो भएर त भएन । त्यसकारण जबसम्म हामीले हाम्रा सिनेमा निर्माणमा आफ्नोपन ल्याऊदैनौ  तबसम बजार पाउन सक्दैनौ भन्ने मेरो बुझाई छ l