कतार एयरवेज ‘एयरलाइन अफ द इयर २०११’ अवार्डबाट सम्मानित भएको छ। जहाजभित्र र बाहिर यात्रुलाई उत्कृष्ट सेवा सुविधा दिएका कारण फ्रान्सको पेरिसमा आयोजित पेरिस एयर सोका अवसरमा स्काइ ट्र्याक्स संस्थाले उक्त अवार्डबाट कतारलाई सम्मानित गरेको हो।
स्काइट्र्याक्सका प्रमुख कार्यकारी अधिकृत एडवार्ड प्लेस्टेडले कतारका प्रमुख कार्यकारी अधिकृत अकबर अल बकेरलाई अवार्ड प्रदान गरेको कम्पनीले जनाएको छ। यो अवार्डलाई ‘यात्रुको छनोट’ का रूपमा पनि लिइन्छ।
विश्वका २ सयभन्दा बढी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीमध्ये कतार उत्कृष्ट भएकाले उक्त अवार्ड दिइएको हो। गत वर्ष कतार यो वर्गको तेस्रो स्थानमा आएको थियो। यसपालि एसियाका चार ठूला कम्पनीलाई पछाडि पार्दै उसले अवार्ड हात पारेको हो।
१ सय भन्दा बढी देशका १ करोड ८० लाख हवाई यात्रुबीच गरिएको १० महिना लामो सर्वेक्षणले कतारलाई उत्कष्ट ठहर्याखएको थियो। यसै गरी कतारले ‘मध्यपूर्वको उत्कृष्ट वायुसेवा’ र उत्कृष्ट फर्स्ट क्लास लाउन्जु अवार्ड पनि पाएको छ।
कतार एयरवेजले हाल ९८ जहाजबाट युरोप, मध्यपूर्व, अफ्रिका, एसिया प्रशान्त, उत्तर र दक्षिण अमेरिकाका १ सयभन्दा बढी गन्तव्यमा उडान गरिरहेको छ
