पुरस्कार प्राप्त गरेपछि बेलायती सञ्चारमाध्यमहरूमा प्रतिक्रिया दिँदै पुनले भनेका छन्, 'दरबारमा आएर कन्स्पिस्युअस ग्यालन्ट्री क्रस प्राप्त गर्दा धेरै उत्साहित र खुशी छु। यो भविष्यका लागि राम्रो सम्झना हुनेछ।'पुनले प्राप्त गरेको पदक र उनको बहादुरीको प्रशंसा गर्दै बेलायती सञ्चार माध्यमहरूले प्रमुखतासाथ समाचार दिएका छन्।
म्याग्दी बिम गाविसका ३१ वर्षीय पुन २०६७ असोज १ राति अफगानिस्तानको हेलमन्द प्रान्तको बाबाजी जिल्लास्थित सैनिक चौकीमा आक्रमण गर्न आएका लडाकुसँग एक्लै लडेका थिए। यो भिडन्तमा उनले चौकी बचाएका थिए।
सानो जाँच चौकीमा तीनमात्रै सैनिक रहेको बेला ड्युटीमा रहेका पुनले १५ मिनेटभन्दा बढी करिब तीस तालिबान लडाकुसँग एक्लै लडेका थिए। लडाकुले चौकीमा एके ४७ र मोर्र्टार आक्रमण गरे पनि पुनको निरन्तर प्रतिरक्षाले तालिबान पछि हटेका थिए। तालिबानले उनको चौकीमाथि नियन्त्रण कायम गर्न सकेको भए त्यहाँ रहेका सबै सैनिक मारिने उनले बताए। तालिबानसँग संघर्षका क्रममा उनले ४ सय राउन्ड गोली, १७ वटा ग्रिनेड र एउटा माइन विष्फोट गराएका थिए।'चौकीलाई तालिबानले वरिपरिबाट घेरेका थिए, मसँग लड्नेबाहेक विकल्प थिएन,' उनले एएफपीसँग भनेका छन्, 'म निश्चित रूपमा मारिन्छु भन्ने थियो। मर्नुभन्दा अघि धेरैभन्दा धेरैलाई मार्नुपर्छ भनेर मैले सोचेँ।'उनले भने, 'त्यसपछि मलाई उनीहरूले मार्न सक्छन् भन्ने नै कहिल्यै लागेन।'