मैले अभिनय गरेको पहिलो फिल्म तिम्रो माया ९९ मेरो माया १०० ले कुनै फाइदा पुर्याएन । सपनाको नौलो संसार मैले अभिनय गरेको पहिलो त्यस्तो फिल्म हो जसले मेरो भाग्यको ढोका खोलिदियो । आज म जे छु, त्यो सबै सपनाको नौलो संसारकै देन हो ।
ऋचा घिमिरे मैले अभिनय गरेको पहिलो फिल्म तिम्रो माया ९९ मेरो माया १०० हो । तर त्यो फिल्मले मेरो करिअरलाई कुनै फाइदा पुर्याएन । त्यो फिल्म २०५८ सालमा सुटिङ भई दुई वर्षपछि रिलिज भएको थियो । त्यतिवेला म नेपाल टेलिभिजनमा द कलेक्सन चलाउथेँ । द कलेक्सन निकै हिट थियो । त्यतिवेला मेरी एकदम मिल्ने साथी तनु खड्का थिइ । उसको दाइ विमल खड्का फिल्म बनाउनुहुन्थ्यो । त्यतिवेलासम्म हामीहरू नेपाली फिल्म भनेर हेयको दृष्टिले हेथ्र्याैं । एक दिन तनुले मलाई उसको दाइले बनाएको जित फिल्म हेर्न जाउँ भनी । हामीले जित हेर्यौँ । राम्रै लाग्यो । त्यतिवेला मलाई लाग्यो, नेपाली फिल्म राम्रै हुँदा रहेछन् ।
मैले द कलेक्सन चलाउन लागेको एक वर्ष भइसकेको थियो । मैले कार्यक्रममा कलाकार, निर्देशकहरूको अन्तर्वार्ता लिन्थेँ । त्यसकारण मेरो धेरै फिल्मकर्मीसँग चिनाजान भइसकेको थियो । विमल दाईले नयाँ फिल्म तिम्रो माया ९९ मेरो माया १०० बनाउन लागेको र त्यसमा अभिनय गर्नका लागि मलाई प्रेरित गर्नुभयो । तनुले पनि राम्रो हुन्छ भनी । मैले स्कुल पढदा थुप्रै नाटक खेलेकी थिए । त्यसकारण मलाई अभिनयको चस्का पसिसकेको थियो । तिम्रो माया ९९ मेरो माया १०० मा त्यतिवेलाका स्टार कलाकार राजेश हमाल, विपना थापा, रमेश उप्रेतीहरू हुनुहुन्थ्यो । उहाँहरूका अगाडि म त निकै नयाँ, उमेरका हिसाबले पनि अपरिपक्क थिएँ । त्यतिवेला मलाई लाग्यो मैले आफ्नो कला देखाउने ठूलो मौका पाएकी छु । त्यही सोचले म त्यो फिल्ममा काम गर्न तयार भएँ ।
तिम्रो माया ९९ मेरो माया १०० मा मेरो जोडी हुनुहुन्थ्यो, राजेश हमाल । राजेश हमालसँग काम गर्न पाउनु गौरवको विषय थियो । त्यतिवेला म निकै दुब्ली र फुच्ची थिएँ । फिल्ममा राजेश दाइ र मेरो पूणिर्माले चन्द्र रोज्यो औँसीले तारालाई बोलको गीत छ । अहिले हेर्दा त्यो गीतमा राजेश दाइको अगाडि आफूलाई बिलाएको पाउँछु । म निकै च्याँसी, नराम्री देखिएकी छु । उहाँ र मेरो जोडी पटक्कै सुहाएको छैन । फिल्म रिलिज भयो । तर, मलाई त्यो फिल्मले कुनै फाइदा दिएन । रोल पनि छोटो थियो । मलाई पब्लिसिटीमा पनि हाइलाइट गरिएन । म उमेर र अनुभवका हिसाबले पनि कच्चा थिए । तिम्रो माया ९९ मेरो माया १०० मेरा लागि बालकलाकारको अभिनय गरेजस्तो अनुभव मात्र भयो । त्यसकारण म त्यो फिल्मलाई महत्त्वपूर्ण मान्दिनँ । खाली अनुभव मात्र भयो यो पेसामा अलिकति स्वार्थी पनि बन्नु पर्ने रहेछ । त्यतिवेला मैले केही जानिनँ । द कलेक्सन चलाउँदा निर्देशक उज्ज्वल घिमिरेसँग राम्रो चिनजान भएको थियो । उहाँले मलाई भन्नु भएको थियो, ऋचा एक दिन म तिमीलाई हिरोइन बनाउँछु । त्यतिवेला मलाई फिल्म अभिनयमा कुनै रुचि थिएन । उहाँले विश्वास फिल्म बनाएपछि लगत्तै शुभकामना भन्ने फिल्म बनाउने हुनुभयो र हिरोइनका लागि मलाई बोलाउनुभयो । उहाँले मलाई त्यो फिल्ममा लिडिङ रोलमा अफर गर्नुभएको थियो । त्यतिवेला मैले तिम्रो माया ९९ मेरो माया १०० साइन गरिसकेकी थिएँ । त्यो कुरा मैले उहाँलाई भने । उहाँले टाइम म्यानेज गर्न भन्नु भयो । तर, ति दुवै फिल्मको सुटिङ सेड्युल एउटै थियो । त्यसकारण मैले पहिला साइन गरेको फिल्म छोड्न चाहिनँ । मैले तिम्रो माया ९९ मेरो माया १०० छाडेर शुभकामना रोजेको भए हुन्थ्यो । तर म स्वार्थी बन्न सकिनँ । तिम्रो माया ९९ मेरो माया १०० मा मेरो रोल पनि दमदार थिएन । शुभकामनामा मैले लिड रोल पाएकी थिएँ । पछि गएर महसुस भयो, मैले शुभकामना रोज्नुपर्ने रहेछ । त्यसो गरेको भए मैले पाँच वर्षअघिनै आजको पोजिसन बनाइसकेको हुनेथिएँ ।
मैले लिडिङ रोल गरेको, काम देखाउने मौका पाएको पहिलो फिल्म सपनाको नौलो संसार हो । सपनाको नौलो संसारले मलाई 'सबथोक' दियो । त्यसकारण म सपनाको नौलो संसारलाई आफ्नो पहिलो फिल्म मान्छु । शाहीकालमा भएको राष्ट्रिय फिल्म अवार्ड फङ्सनमा म राजश्री डान्स सेन्टरको तर्फबाट एउटा गीतमा नाचेकी थिए । त्यतिवेला मैले कान्तिपुरको कमेडी सिरियल हाउसफुल गरिरहेकी थिएँ । फिल्म थिएन । त्यो डान्स हेरेर राजु शाह सरले मलाई आफूले फिल्म बनाउन लागेको र त्यसका लागि मलाई हिरोइन लिने निर्णय गरेको सुनाउनुभयो । उहाँले युरोपमा सुटिङ गरिने सपनाको नौलो संसार फिल्म बनाउँदै हुनुहुन्थ्यो । राजु सरको कुरा सुनेर मैले आफैंलाई विश्वास गर्न सकिनँ । उहाँले मलाई त्यो फिल्मको स्त्रिmप्ट दिनुभयो । मैले त्यो स्त्रिmप्ट हरेक बिहान एकपटक र बेलुका एकपटक पढ्थे । छिनछिनमा झस्किन्थेँ, मैले यत्रो ठूलो अवसर पाएकी छु, युरोपमा सुटिङ हुने फिल्म त्यसमा दिलीप रायमाझी हिरो । र्मैले आफूलाई भाग्यमानी ठाने । अनि कतिकतिवेला कतै यो फिल्म मेरो हातबाट फुत्किने त होइन भनेर डर पनि लाग्थ्यो । अनि कहिले फेरि मलाई भिसा दिँदैन की भन्ने डर पनि लाग्थ्यो । तर मेरो भिसा सजिलै लाग्यो । सपनाको नौलो संसारका लागि हामी बेल्जियम उड्यौँ ।विदेशको सुटिङको अनुभव निकै रमाइलो भयो । हामी एकैपरिवार भएर बस्यौँ । त्यहाँ हामीलाई सबैले सहयोग गरे । कसैले रासन ल्याइदिए, कसैले लोकेसन मिलाइ दिए ।
वास्तबमा त्यो फिल्म बेल्जियममै बनेको हो । विदेशको सुटिङ भएकाले मेकअप म्यान लगिएको थिइनँ । म आफ्नो मेकअप आफैँ गर्थे । बिहानै पाँच बजे उठेर भगवान्को फोटोमा धूप बाल्थेँ । अनि मेकअपमा बस्थेँ । मेकअप गर्न तीन घन्टा लाग्थ्यो । मेकअप गरेर बाहिर निस्कदा दिलीप रायमाझीले तिमी मेकअपमा भन्दा मेकअपविना नै राम्री देखिन्छौँ भनेर जिस्क्याउथेँ । राजु सर त्यो फिल्मको निर्देशकसमेत भएकाले हामीलाई डान्स सिकाउने फुर्सद हुँदैनथ्यो । हरेक साँझ हामी डान्सको रिहर्सल गथ्र्याैं । हामीहरू ओभरकोट लगाएर सडकमा निस्कन्थ्यौँ अनि क्यामेरा रोल भएपछि ओभरकोट फालेर नाच्न थालिहाल्थ्यौँ । मेरो र दिलीपको सट हुँदा जितु नेपालले रिफलेक्टर टल्काउँथे । दिलीप र जितुको हुँदा मैले अनि मेरो र जितुको सट हुँदा दिलीपले लाइट देखाउने, रिफ्लेक्टर समाउने गर्थे । निकै रमाइलोसँग सुटिङ सकियो ।
हामीलाई जम्मा एक महिनाको भिसा दिइएको थियो । बेल्जियममा सुटिङ सिध्याएर हामी काठमाडौं फर्किंयौँ । त्यसपछि मेरो भाग्यको ढोका खुल्यो । म त्यो दिन साँझ ६ बजे काठमाडौं ओर्लिंएँ । त्यही दिन राति दस बजे मलाई देशदेखि विदेश भन्ने फिल्मको अफर आयो । उहाँहरू मलाई पर्खेर बस्नु भएको रहेछ । त्यसपछि मलाई फिल्मको कमी भएन । साँच्चै भन्ने हो भने सपनाको नौलो संसारले मलाई विपनाको नौलो संसारमा लग्यो । फिल्मले खासै राम्रो व्यापार गरेन । तर, त्यो फिल्म मेरा लागि निकै भाग्यमानी साबित भयो ।