माइक्रोसफ्टले एक वर्ष अघिमात्र सार्वजनिक गरेको ‘अफिस २०१०’ लाई नेपालीकरण गरिएको छ। यसअघि एक्सपी, भिस्टा, अफिस सेभेनलाई नेपालीकरण गर्न खटिएको टिमले अफिस २०१० लाई पनि नेपालीकरण गर्ने काममा सफलता पाएको छ। माइक्रोसफ्टले नेपालको अनलिमिटेड टेक्नोलोजीसँगको सहकार्यमा सफ्टवेयरलाई नेपालीकरण गर्दै आएको छ। अफिस २०१० को नेपाली भर्सन सार्वजनिक गर्न आयोजित कार्यक्रममा अनलिमिटेडका प्रबन्धक एलेन बेलोचन तुलाधरले स्थानीय भाषाको प्रयोगबाट सामान्य साक्षरले पनि कम्प्युटर चलाउन सक्ने वातावरण बनेको बताए। माइक्रोसफ्टले एक वर्षअघि पहिलेको अफिस सेभेनलाई अझै परिस्कृत गरेर अफिस १० ल्याएको हो। यसले गर्दा अंग्रेजी भाषा नजाने पनि कम्प्युटर चलाउन कुनै समस्या पर्दैन।नेपालीकरण गरिएपछि अंग्रेजीमा रहेका टुलबार, मेनुबारमा नेपाली शब्द देखिन्छन्। नेपालीकरण गरिएको माइक्रोसफ्ट अफिस २०१० कम्प्युटरमा राख्न ३२ बिट प्रणालीको लागि १३ दशमलव ७ एमबी र ६४ बिटको लागि १५ दशमलव २ एमबी इन्टरफेस आवश्यक पर्छ।
यसलाई इन्टरनेट लिंकबाट निशुल्क डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ। यसमा निशुल्क नेपाली भाषाको हिज्जे परीक्षणसमेत गर्न सक्ने सुविधा छ। गत वर्ष १५ हजार विद्यार्थीलाई निशुल्क विन्डोज सेभेन वितरण गरेको माइक्रोसफ्टले यस वर्ष नेपालमा २९ हजार विद्यार्थीलाई वितरण गर्ने लक्ष्य लिएको छ। माइक्रोसफ्टले अफिस २०१० लाई नेपालीकरण गरिसकेपछि अब विन्डोज ८ लाई भाषा स्थानीयकरण सुरु गरेको छ।
