दिप्ती र आर्यनको अब ब्रेक हुने भयो

deepti
चलचित्र ‘किस्मत’ बाट डेब्यू नायक आर्यन सिक्देलले छोटो समयमा नै राम्रो चर्चा पाए । उनले अभिनय गरेका अधिकांश चलचित्र सफल भएपछि उनलाई नायक बनाउन खोज्ने निर्माता निर्देशकहरू थुप्रै छन् । चलचित्रको अभिनय यात्रामा उनले थुप्रै नायिकाहरूसँग पर्दामा रोमान्स गरे । यहि क्रममा अहिले उनीसँग एक नवनायिकाले रोमान्स गर्ने भएकी छिन् कृषा चौलागाईंको निर्माणमा सबिर श्रेष्ठले निर्देशन गर्न लागेको चलचित्र ”के म तिम्रो साथी बन्न सक्छु’ मार्फत दिप्ती गिरीले डेब्यू गर्दैछिन् । आगामी सोमबारका दिन मुडे भन्ने स्थानबाट छायाँकन शुरू गर्ने भनिएको सो चलचित्रमा दिप्ती आर्यनको जोडीको रूपमा प्रस्तुत हुँदैछिन् । दिप्तीको अभिनय भने पहिलो हैन । उनले यसअघि बालकलाकारको रूपमा पूर्णिमा, बसन्त ऋतु, देवयानी लगायतका चलचित्रमा अभिनय गरिसकेकी छिन् भने उनी नेपाल टेलिभिजनमा प्रशारण भएको बाल कार्यक्रम टोम एन्ड जेरीको कार्यक्रम प्रस्तोता पनि हुन्

हरेक पक्षमा सबल देखेर आफ्नो चलचित्रमा डेब्यू गराउन लागेको बताउँदै निर्देशक श्रेष्ठले आर्यनसँग उनको जोडी जम्ने दाबी गरे । उनले भने, ‘लामो समय देखि नायिका खोजिरहेको थिएँ बल्ल भने जस्तो भेटें । मलाई बिश्वास छ उनी भबिष्यमा सफल कलाकार बन्ने छिन् ।’ सबै मिल्ने केटाकेटी व्वायफ्रेण्ड र गर्ल फ्रेण्ड हुँदैनन् । उनीहरू असल साथी मात्र पनि हुनसक्छन् भन्ने मूल भाव बोकेर निर्माण गर्न लागिएको सो चलचित्रमा आर्यन र दिप्तीको साथमा शिशिर राणा, दिनेश थापा, रमेश थापा, संदिप सापकोटा लगायतले अभिनय गर्ने निर्देशक श्रेष्ठको भनाई छ ।
शिबम् अधिकारीको कथा रहेको सो चलचित्रमा दिनेश सुनामको संगीत, प्रमोद ढुंगानाको गीत, शिब ढकालको छायाँकन, रोशन श्रेष्ठको द्वन्द, समन अधिकारीको नृत्य रहने बताईएको छ । मुडे, काठमाण्डौ, फिक्कल लगायतका स्थानमा छायाँकन गर्ने भनिएको सो चलचित्रको छायाँकन करिब ४० दिनमा सक्ने लक्ष्य लिईएको निर्माण युनिटको भनाई छ ।