लाखौं नेपालीलाई ठगि गर्दै धनलक्ष्मी यन्त्र

झुठो विज्ञापन गरि लाखौं नेपालीलाई ठगि गर्दै आएको धनलक्ष्मी यन्त्रको विज्ञापन प्रसारणमा आजदेखि रोक लगाइएको छ । सुचना तथा सञ्चार मन्त्रालयले आज एक विज्ञप्ति जारी गरि धनलक्ष्मी यन्त्रको विज्ञापन प्रसारण नगर्न टेलिभिजनहरुलाई निर्देशन दिएको छ ।
मन्त्रालयले संचालकहरुको सम्पूर्ण विवरण पेश गर्न टेलिभिजन लगायत संचारमाध्यमहरुलाई निर्देशन पनि दिएको छ । विज्ञप्तिमा चलचित्र निर्माण नियमावलि २०५७ अनुसार केन्द्रीय चलचित्र जांच समितिबाट अनुमति नै नलिएको अवैधानिक धनलक्ष्मी योजना कार्यक्रमको विज्ञापन केही टेलिभिजनहरुले प्रसारण गरेको उल्लेख गरिएको छ । ठूलो धनराशी प्राप्त गर्ने जस्ता प्रलोभन देखाएर कलाकार निखिल उप्रेती र उषा पौडेललाई प्रयोग गरी व्यापकरुपमा ठगी गरेको जानकारी आएको विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले धनलक्ष्मी योजना सम्बन्धी विज्ञापन कार्यक्रम सञ्चालकहरुको नाम ठेगाना फोन नंबर सहितको विवरण जिल्ला प्रशासन कार्यलयबाट माग भइ आएकाले यथाशिघ्र सञ्चार मन्त्रालयमा उपलब्ध गराउन टेलिभिजन ब्रोडकाष्टर्स नेपाल टिबीएनलाई अनुरोध समेत गरेको छ । संचार मन्त्रालयको विज्ञप्तीमा जिल्ला प्रशासन कार्यालय काठमाडौंलाई बोधार्थ जनाएको छ ।
झुठो विज्ञापन गरी करौंडौं रकम उठाएको रहस्य खुलेपछि काठमाडौवाट प्रसारित हुने न्यूज २४ टेलिभिजनले सुरुदेखिनै यसको निरन्तर रुपमा समाचार प्रसारण  गर्दै आएको थियो । न्यूज २४ को समाचार प्रभावकै कारण धनलक्ष्मी यन्त्रले झुठो विज्ञापन गरी लाखौं नेपालीबाट करौडौं रकम असुली गरेको पुष्टि भएको हो ।