अस्पतालको आकस्मिक कक्ष, चिकित्सक र नर्सको बाक्लै ओहोरदोहोर। त्यही भीडभाडमा उपचारका लागि पाँचवर्षे बालकलाई हतारहतार अस्पताल पुर्याइन्छ। अनि लाग्छ डाक्टर र नर्सको भीड।मुटुका बिरामी बालक संगम गौतमलाई उपचार गराउन आमा बनेकी झरना थापा र बुबा बनेका सुमन सिंह तनावमा देखिन्छन्। रोगले थलिएको छोरोलाई विभिन्न अस्पतालमा उपचार गराउँदा पनि निको नभएपछि उनीहरु हतासमा देखिएका हुन्।छोरा बिरामी भएर उपचारका लागि अस्पताल ल्याउँदै गर्दाको दृश्य छायांकन गरिरहेका छौं,' निर्देशक गोविन्द गौतमले भने, 'मुटु रोगले थलिएका बिरामी छोराको अवस्था गम्भिर भएपछि बुबाआमा आत्तिदै अस्पताल ल्याउँदैछन्।' छोरालाई निको नभएपछि झरना पागल भएको दृश्य खिच्न बाँकी रहेको उनले जानकारी दिए।राजधानीमा छायांकन सकेर गीत र अस्पतालको दृश्य खिच्न पोखरा आएको फिल्ममा राजेश हमाल, आयुष रिजाल र सुनिलदत्त पाण्डे, सोनिया केसी लगायतले अभिनय गरेका छन्।
'उपचारकै क्रममा केही समयपछि बालकको मृत्यु भएपछि आमा बनेकी झरना साँच्चै पागल बन्छिन्। पुत्रशोकमा पागल बनेकी दिदीको उपचार बहिनी सोनियाले फेवासिटीमै गराउँछिन्,' पारिवारिक रोदन र पीडा झल्काउने फिल्म बनाउँदै गरेका निर्देशकले भने।
उनले झरनालाई कुशल गृहिणीको रूपमा प्रस्तुत गरेको दावी गरे। 'उनलाई चुलबुले युवतीभन्दा गृहिणीकै रोल सुहाउँछ,' उनले मूल्यांकन गरे।
झरना भने आफूमा चुलबुलेदेखि अधबैंसेको समेत भूमिका निर्वाह गर्ने क्षमता रहेको दावी गर्छिन्, 'मैले कलेज पढ्ने युवतीदेखि हाउसवाइफको रोलमा समेत सुहाएको प्रतिक्रिया पाएकी छु,' उनले भनिन्, 'यसमा आमा बनेर खेल्दा निकै रमाइलो लागेको छ।'
पहिलोपटक पागलको भूमिकामा अभिनय गर्दा बेग्दै अनुभव गरेको उनले बताइन्। यस्तो रोलमा अभिनय गर्ने रहर पहिल्यैदेखि भए पनि बल्ल साइत जुरेकोमा उनी मख्ख छिन्।
