भारतीय योगगुरु रामदेव 'बिदेसिएको कालो धन फिर्ता र भ्रष्टाचारविरुद्ध' शनिबारबाट नयाँ दिल्लीमा आमरण अनशन बस्ने भएका छन्। अनशन 'सत्याग्रह'मा भारतभर १ करोडभन्दा बढीले साथ दिने उनको विश्वास छ। 'जुन ४ देखिको आन्दोलन दिल्लीको रामलीला मैदानदेखि ६ सय २४ वटै जिल्लामा फैलिनेछ, पहिलो दिनमै एक करोडभन्दा बढी अनशन बसेर सत्याग्रहमा सहभागी हुनेछन्,' निजी विमानमा अनशनका लागि बुधबार राजधानी नयाँ दिल्ली आएका रामदेवले सञ्चारकर्मीसँग भने, 'हामी भ्रष्टाचारमुक्त समाज चाहन्छौं।'
उनले आफूलाई 'अनशनका लागि कसैले अनुमति दिनु नपर्ने' बताउँदै माग स्वीकार नहुन्जेल आन्दोलन जारी राख्ने जनाए।
भारतीय प्रधानमन्त्री मनमोहन सिंहले अनशन रोक्न आग्रह गर्दै रामदेवलाई पत्र लेखेका छन्। प्रधानमन्त्री सिंहले 'शासन सुधारका लागि रामदेवका रचनात्मक सुझाव स्वागत गर्ने' उल्लेख गर्दै पत्रमा भनेका छन्, 'सरकार तपाईंसहितका नागरिक समाजका सदस्यसँग काम गर्न इच्छुक छ।'
बुधबारै रामदेवले विमानस्थलमा अर्थमन्त्री प्रणव मुखर्जी नेतृत्वमा रहेका चार मन्त्रीको टोलीसँग दुई घन्टा वार्ता गरेका थिए। टोलीमा मानव संशाधनमन्त्री कपिल सिब्बल, संसदीय मामिलामन्त्री पवनकुमार बंसल र पर्यटनमन्त्री सुवोधकान्त साह थिए। वार्तामा मन्त्रिपरिषद्का सचिव केएम चन्द्रशेखरसमेत संलग्न थिए।
रामदेवले सरकारसँग भएको पहिलो चरण वार्ता सकारात्मक भएको र थप वार्ता हुँदै जाने बताएका छन्।
रामदेवले भ्रष्टाचारीलाई मृत्युदण्ड सजाय तोक्न र ५ सय तथा हजारका नोट बजारबाट फिर्ता गर्नसमेत माग गरेका छन्। 'ठूला नोट गैरकानुनी काममा प्रयोग हुन्छन्,' रामदेवले भने। करिब ७ सय खर्ब भारतीय रकम विदेशमा रहेको अनुमान छ।
यसअघि गान्धीवादी सामाजिक कार्यकर्ता अन्ना हजारे भ्रष्टाचारविरोधी कडा कानुन माग गर्दै आमरण अनशन बसेका थिए। हजारेको मागअनुसारै अहिले भ्रष्टाचारविरोधी कठोर कानुन निर्माणका लागि पाँच मन्त्री र पाँच नागरिक समाजका प्रतिनिधि सम्मिलित समिति बनेको छ।